विपन्न परिवारका लागि आवास गृह निर्माण

फाल्गुन २६, २०८१

कमल पन्थी

Construction of housing houses for poor families

बर्दिया — ठाकुरबाबा नगरपालिकामा विपन्न परिवारका लागि ९ वडामा १ सय २ घर निर्माण सुरु भएको छ । यसरी निर्माण हुने घरमध्ये हरेक वडामा एक जना अपांगता भएका परिवारका लागि बन्नेछन् ।

विन परियोजना र स्थानीयको साझेदारीमा ऊर्जा प्रभावकारी र वातावरणीय मैत्री भवन निर्माण भइरहेको पालिकाका प्रमुख तिलक लम्सालले बताए ।

गर्मीमा चिसो, चिसोमा गर्मी हुने र बिजुलीसमेत कम खपत हुने भवनहरु यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न भइसक्ने उनको भनाइ छ । 

एक पूर्ण अपांगता भएकाका लागि ३ लाख ७५ हजार पालिकाको सहयोग र अन्य साझेदारीमा घरका निर्माण हुने प्रमुख लम्सालले जनाए ।

‘मुक्तकमैया, सुकुम्बासी, विपन्न र ०७१ का बाढी पीडित तगथा वन्यजन्तु पीडितका परिवारका लागि आवास निर्माण गर्न थालिएको हो,’ उनले भने, ‘अपांगता भएका बाहेक अन्यका लागि १ लाख ७५ हजार पालिकाको सहयोग र साझेदारीमा निर्माण हुने छ ।’

विन परियोजनाका इन्जिनियर अभिषेक कर्णले भवन निर्माणका लागि स्थानीय २७ जनालाई प्रशिक्षण दिएको बताए । यसका साथै आर्थिक सहयोग र नितीगत रुपमा ठाकुरबाबा नगरपालिकासँग सहकार्य गरी प्रभावकारी संरचना निर्माण भइरहेको उनको भनाइ छ ।

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully