नसर्ने रोगबारे पत्रकारसँग अभिमुखीकरण

फाल्गुन २५, २०८१

रुपा गहतराज

Orientation with journalists on non-communicable diseases

नेपालगन्ज — स्वास्थ्य कार्यालय बाँकेले आइतबार नसर्ने रोगबारे अभिमुखीकरण गर्दै पत्रकारहरूको स्वास्थ्य परीक्षणसमेत गरेको छ ।

स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले स्वास्थ्य मन्त्रालयले फागुन महिनालाई नसर्ने रोगविरुद्धको सचेतीकरण अभियानका रूपमा मनाउन निर्देशन गरेसँगै जिल्लामा नसर्ने रोगको पहिचान र निदानका सवालमा काम भइरहेको उनले बताए । 

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले नसर्ने रोग भयावह बन्दै गइरहेकाले सचेतना फैलाउन सञ्चारकर्मीलाई आग्रह गरिन् । उनले पछिल्लो पटकको तथ्यांक अनुसार हुने मृत्युको कारणमा ६३ प्रतिशत नसर्ने रोगको कारण रहने गरेको जानकारी दिँदै समय–समयमा नियमित स्वास्थ्य जाँच र खानपानमा विशेष ध्यान दिन आग्रह पनि गरिन् ।

उनले नियमित स्वास्थ्य चेकजाँच र खानपानमा विशेष सावधानी अपनाउन आग्रह गरिन् । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले संञ्चारकर्ममार्फत नसर्ने रोगबारे समुदायस्तरमा सचेतना फैलाउनु पर्नेमा जोड दिए ।

जनस्वास्थ्य अधिकृत श्रेष्ठले नसर्ने रोगको अवस्था, नसर्ने रोगको प्रभावबाट जोगिन अपनाउनुपर्ने सावधानी लगायतका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully