विदेश जाने तयारीमा रहेका र गएकाहरुका लागि सहयोगी बन्दै आप्रवासी स्रोत केन्द्र

फाल्गुन २४, २०८१

माधव अर्याल

Immigrant resource center becoming a supporter for those who are preparing to go abroad and those who have gone abroad

पाल्पा — तानसेन नगरपालिका–५ का ३६ वर्षीय कृष्ण खत्रीको साउदी अरबमा गत माघ १४ गते सडक दुर्घटनामा मृत्यु भयो । दुर्घटनाको खबर लगत्तै जिल्ला प्रशासन कार्यालय पाल्पामा रहेको आप्रवासी स्रोत केन्द्रले सोधखोज सुरु गर्‍यो ।

कम्पनीबाट कोठामा जाँदै गर्दा खत्रीको दुर्घटनामा मृत्यु भएको थियो । परिवारसँगको सम्पर्कले गर्दा फागुन ९ गते शव नेपाल ल्याउन सफल भए । परिवारको निवेदनका आधारमा केन्द्रमार्फत् वैदेशिक रोजगार बोर्डमा सहजीकरण गरेपछि काम छिटो भएर शव ल्याउन सजिलो भएको हो । 

खत्रीको मात्र होइन, मलेशियामा मंसिर १२ गते मृत्यु भएका ४१ वर्षीय सोमबहादुर सुनारको शव ९ दिनमै झिकाउन सकिएको उनकी भाउजु माया सुनारले बताइन् । प्रशासन कार्यालयमा रहेको केन्द्रमा निवदेन दिएपछि आफूलाई शव झिकाउन सजिलो भएको हो । 

‘विदेश (मलेशिया) मा गएका देवरको उतै मृत्यु भयो भन्ने खबर आयो,’ उनले भनिन्, ‘जिल्ला प्रशासनमा पुगेर सोधखोज गर्दा निवेदन दिएपछि शव झिकाउन सजिलै भयो ।’ मंसिर १२ गते मृत्यु भएका देवरको शव २० गते आएको उनले बताइन् । सुनारका श्रीमती ताराका अनुसार बीमा लगायत कम्पनीबाट पाउनुपर्ने सुविधाको रकम अझै नपाएको बताइन् । 

‘दुई ठाउँबाट पैसा पाइन्छ भन्ने सुनेको हो,’ उनले भनिन्, ‘एक ठाउँ (बीमा) को पैसा आएको छ । अर्को अझै आएको छैन ।’ मलेशियाको कम्पनीले कुनै पनि प्रकारको सहयोग नगरको उनले बताइन् । खत्री र सुनार मात्र होइन, जिल्ला प्रशासन कार्यालय पाल्पामा रहेको आप्रवासी स्रोत केन्द्र विदेशमा जाने र गएकाहरुका लागि सहयोगी बनेको छ । 

तानसेन नगरपालिकामा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले प्रशासनमा एउटा कक्षामा आप्रवासी स्रोत केन्द्र सञ्चालन गरेको जिल्ला कार्यक्रम संयोजक दिनेश घिमिरेले बताए । उनका अनुसार केन्द्रले सहजीकरणका साथै परामर्श सेवा प्रदान गर्दै आएको छ । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार प्रशासन कार्यालयमा राहदानी बनाउने प्रत्येक नागरिकलाई अनिवार्य रुपमा परामर्श सेवा प्रदान गर्दै आएको छ ।

साथै रोजगारीको शिलशिलामा विदेशमा मृत्यु भएका शवहरुलाई नेपाल ल्याउन सहयोग गर्नुका साथै मृतकको घरपरिवारलाई घरमै पुगी समवेदना व्यक्त गरिएको उनले बताए । ‘वैदेशिक रोजगारीका क्रममा भएका ठगीहरुको उजुरी दर्ता गरी दुई पक्षबीच छलफल गराउने गरिन्छ,’ उनले भने, ‘ठगी गर्ने व्यक्ति संस्थालाई सम्पर्कमा ल्याउन पहल गर्ने र सहमति हुन नसकेका निवेदनलाई आवश्यक प्रक्रिया पुर्‍याइ वैदेशिक रोजगार विभागमा कारबाही लागि सिफारिस गर्ने गरिएको छ ।’ केन्द्रबाट सम्बन्धित देशबाट आएको वैदेशिक क्षतिपूर्ति परिवारलाई प्रदान गरिन्छ ।

केन्द्रबाट विदेश काम गर्न, अध्ययन गर्न जाने, विदेशबाट फर्केका ६ हजार ६ सय ८० जनालाई व्यक्तिगत तथा सामूहिक परामर्श प्रदान गरिसकेको छ । परामर्श लिएका ३ सय ६९ जनालाई फोन फलोअप गरिएको केन्द्रले जनाएको छ । ७ वटा शव झिकाउन सहजीकरण गरेको छ भने वैदेशिक ठगीका ५ वटा मुद्दा परेको र त्यसलाई दुवै पक्षलाई छलफल गराउने, व्यक्ति पहिचान तथा खोजीका लागि सम्बन्धित ठाउँमा पत्राचार गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

अन्तर सरकार समन्वय बैठक
संघीय, प्रदेश र तानसेन नगरपालिकाको आयोजनामा सञ्चालित सुरक्षित आप्रावसन (सामी) परियोजनाले पाल्पाका दुई नगरपालिका र आठ गाउँपालिकाका लागि अन्तर सरकार समन्वय बैठक राखेको छ । बैठकमा पाल्पामा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले आप्रवासी स्रोत केन्द्रबाट भएका गतिविधिका विषयमा जानकारी गराए ।

त्यसैगरी लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालय सामी कार्यक्रम वरिष्ठ शाखा अधिकृत प्रदीप खनालले लुम्बिनी प्रदेशमा सञ्चालित कार्यक्रमका बारेमा जानकारी गराए । 

वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत विष्णु अर्यालले बोर्डले प्रदान गरेका सेवाहरुका साथै आवधिक बीमाबारे जानकारी गराए । तानसेन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झवीन्द्र न्यौपानेले मानसिक स्वास्थ्य सम्बन्धि व्यवस्था अन्तर्गत भएका कामबारे जानकारी गराएका थिए । 

जिल्ला समन्वय प्रमुख टंकनाथ खनालले स्थानीय सरकारले युवालाई वैदेशिक रोजगारमा जान प्रेरित गर्ने भन्दा आफ्नै गाउँमा बसेर स्वरोजगार बनाउने योजना ल्याउनुपर्ने सुझाव दिए ।

स्थानीय सरकारका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, रोजगार शाखा, स्वास्थ्य शाखाका प्रमुख सहभागी कार्यक्रममा स्थानीय घरेलु तथा कुटीर उद्योग स्थापना गर्ने, उत्पादित सामग्री बजारसम्म पुहाच पुर्‍याउन सहयोग गर्नुपर्ने साथै रोजगार र आयआर्जनका कार्यक्रम स्थानीय सरकारले ल्याउनुपर्नेमा जोड दिएका हुन् । 

पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले युवा लक्षित कार्यक्रम र स्वरोजगार हुने कार्यक्रम हुने गरेको भए पनि प्रचारमा कमी भएको बताए । निजी क्षेत्रसँगको हातेमालोमा आन्तरिक रोजगार सिर्जना तथा नीतिगत व्यवस्था गर्न सकियो भने वैदेशिक रोजगारमा जाने युवाको संख्यामासमेत कमी आउने भएकाले वार्षिक रुपमा श्रम बजारमा आउने युवा लक्षित कार्यक्रम बनाउन स्थानीय सरकारले ध्यानदिनुपर्ने पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताए । 

आयात हुने कच्चा पदार्थमा छुट सुविधा, कर छुटको व्यवस्था, बजारसँगको पहुँचलाई व्यवस्थापन गर्दै रोजगार, उद्यमशीलता र उत्पादनसँग जोड्न सकियो भने युवालाई वैदेशिक रोजगारमा जानबाट रोक्न सकिने सुझावसमेत उनले दिए । पाल्पाबाट अध्ययन तथा वैदेशिक रोजगारका लागि दैनिक ५० देखि ८० जनाले राहदानी बनाउन आवेदन दिने गरेका छन् ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully