कुलमानलक्षित ऊर्जामन्त्रीको टिप्पणी : अनुशासनहीन र अमर्यादित कामले मुलुकको बर्बादी

फाल्गुन २३, २०८१

माधव ढुंगाना

Remarks of the Hon'ble Energy Minister: Undisciplined and unlimited work is ruining the country

भैरहवा — ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति लक्षित गर्दै अमर्यादित कार्य गर्नेलाई सबैले निरुत्साहित गर्नुपर्ने बताएका छन् । 

सिद्धार्थ उद्योग वाणिज्य संघको ६६औं वार्षिक साधारणसभाको शुक्रबार भैरहवामा उद्घाटन गर्दै मन्त्री खड्काले सस्तो लोकप्रियताका नाममा भीड जम्मा गरेर अनुशासनहीन र अमर्यादित काम गर्ने प्रवृत्तिले मुलुकको बर्बादी हुने बताए ।

डेडिकेटेड विद्युत बक्यौताको नाममा माग र उपयोग नै नगरेको विद्युतको भुक्तानी मागेर प्राधिकरणले २२ वटा उद्योगमाथि अन्याय गरेको पनि उनले बताएका छन् । यसबारे छिनोफानो गर्न प्राधिकरण नमानेको उनको भनाइ छ ।

डेडिकेटेड विद्युत लाइनको उपयोग गरेको भए त्यस बापतको महसुल व्यवसायीले इमानदरीसाथ तिर्नुपर्ने दायित्व भए पनि माग र उपयोग नै नगरेको लाइनको महसुल जरिवानासहित तिराउन लगाउनु र उद्योगको लाइन काटिदिनु व्यवसायीमाथिको अत्याचार भएको उनले बताए । 'यस खालको अन्याय र अत्याचार मुलुकमा हुनु हुँदैन । यसरी अन्यायमा परेकाको संरक्षण गर्ने दायित्व सरकारको हो,’मन्त्री खड्काले भने, ‘सरकारले यस खालको अन्याय र अत्याचार हुन दिँदैन, केही समय लाग्ला तर यसबारेमा छिनोफानो सरकारले गरेरै छाड्नेछ ।’

सरकारी निकायमा बसेर जनतालाई दुःख दिने र झुटा विवरण तयार गरेर पेस गर्ने जस्ता क्रियाकलाप सरकारलाई किमार्थ स्वीकार्य नहुने पनि उनले बताए ।

मुलुकको समृद्धिका लागि आम्दानीको स्रोत बढाउन सरकारले आन्तरिक स्रोतको उपयोग गर्ने गरी विद्युत् उत्पादन र खपतलाई प्राथमिकता दिँदै दसवर्षे योजना अघि सारेको उनको भनाइ थियो । ' जसअर्न्तगत १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने र साढे १३ हजार मेगावाटभन्दा धेरै आन्तरिक खपत गर्ने लक्ष्यका साथ सरकारले काम अघि बढाएको छ,' उनले भने, 'आन्तरिक खपत हुनबाट बचेको विद्युत् भारत र बंगलादेशलाई बिक्री गर्ने योजना छ ।'

माधव ढुंगाना ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully