अर्घाखाँची — चैतमा अर्घाखाँचीमा पाणिनि सम्मेलन हुने भएको छ । संस्कृत व्याकरणका पिता महर्षि पाणिनिको तपस्यास्थल पणेनामा यही चैत २७ र २८ गते ‘पाणिनि सम्मेलन’ हुने भएको हो ।
लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको आर्थिक सहयोगमा पर्यटन विकास परिषद् बुटवल र पाणिनि गाउँपालिकाको संयुक्त आयोजनामा वडा नम्बर १ र २ को संगमस्थल पणेनास्थित जंगलभित्रको चौरमा सम्मेलन हुन लागेको हो ।
पाणिनिको इतिहास, वर्तमान अवस्था, भावी रुपरेखाका बारेमा पाणिनिको तपस्यास्थलमा सम्मेलन गर्न लागिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले बताए । सम्मेलनमा धार्मिक गुरु र संस्कृतका विद्धानहरु सहभागी हुने उनले बताए । पाणिनि तपोभूमिको गुरुयोजनाको बारेमा प्रस्तुतिहरु हुने र अहिले भएको प्राकृतिक सुन्दरतालाई संरक्षण गर्दै गुरुयोजना बनाएर विश्वभरका हिन्दु धर्म र संस्कृत भाषाप्रेमीहरुलाई यहाँ ल्याउने, पर्यटन विकास गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको उनले बताए ।
सम्मेलनमा संघ सरकारका अर्थमन्त्री, पर्यटनमन्त्री, लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरु, सांसद, जनप्रतिनिधि, दलका नेता, बुद्धिजीवी लगायतको उपस्थिति रहने गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले बताए । ‘पाणिनिलाई विश्वमा चिनाउन राष्ट्रियस्तरको सम्मेलन गर्दैछौं,’ उनले भने, ‘सम्भव भएसम्म प्रधानमन्त्री पनि आउनुहुन्छ छिमेकी जिल्लासहित धेरै अतिथि सहभागी गराउने र पाणिनिलाई देश विदेशमा प्रचारप्रसार गर्ने, अब गर्ने गुरुयोजना तयार गर्न सम्मेलन गर्दैछौं ।’
सम्मेलनको बारेमा वस्तुस्थिति बुझ्न मंगलबार प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्ल लगायतका सुरक्षा निकायका प्रमुखले स्थलगत अनुगमन गरेको छ । संघीय सरकारले सय पर्यटकीय गन्तव्यमध्ये पाणिनिलाई पनि समेटेको छ ।
‘पाणिनि ऐतिहासिक गन्तव्यस्थल हो,’ पाणिनि गाउँपालिका पूर्वअध्यक्ष अच्युत गौतमले भने, ‘यो ठाउँमा दिनभर नांगो खुट्टाले स्पर्श गर्यो भने अर्कौ उर्जा हुन्छ । हिमश्रंखला, चिसो हावापानी, सुन्दर प्राकृतिक दृश्य रहेको छ । यहाँ ध्यान गर्दा बेग्लै आनन्द हुन्छ ।’
पाकिस्तानको लाहोरबाट अर्घाखाँचीको खिदिममा आएका पाणिनि ऋषिले पणेनाको लेकमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेको इतिहास रहेको उनले बताए ।
