कपिलवस्तु — स्रोत नखुलेको २८ लाख ९० हजार रुपैयाँसहित ४ जना पक्राउ परेका छन् ।
जिल्लाको वाणगंगा नगरपालिका-४ जीतपुरस्थित केसी फेन्सी स्टोरको अन्डरग्राउन्डमा रहेको कपडा गोदामबाट बिहीबार दिउँसो करिब ३ बजेतिर शंकास्पद रूपमा बसेका अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-५ का वर्ष ३० वर्षीय गोविन्द विकको साथबाट ५ सय दरको एक हजार ८ सय थान भारतीय रुपियाँ ९ लाख (नेपाली १४ लाख ४० हजार) बरामद गरिएको छ ।
त्यस्तै उक्त ठाउँबाटै कपिलवस्तुको मायादेवी गाउँपालिका-८ बस्ने ३८ वर्षका सोमनाथ कसौधनकासाथबाट नेपाली एक हजार दरका एक हजार २९४ थान र ५ सय दरका ३१२ गरी १४ लाख ५० हजार बरामद गरिएको जिल्ला प्रहरीका कार्यालयका सूचना अधिकारी डीएसपी मोहनमणि अधिकारीले बताए ।
उनीहरूसँग रहेको बुटवल उपमहानगरपालिका-१६ बस्ने ४१ वर्षका वसन्त खरेल र कपिलवस्तु नगरपालिका-११ बस्ने ४२ वर्षका शेषनारायण गिरीलाई पनि पक्राउ गरिएको थियो ।
नेपाली र भारतीय नोटसहित चारै जनालाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । विशेष सूचना पाएर पुगेको ईप्रका प्रहरी टोलीले स्रोत नखुलेको रकम बरामद गरेको थियो ।
