रूपन्देहीका पालिकाबीच ई-रिक्सा व्यवस्थापन गर्ने सहमति

चैत १० भित्र व्यवस्थापन तथा नियमन गरिसक्नुपर्ने निर्णय

फाल्गुन २२, २०८१

सन्जु पौडेल

An agreement to manage e-rickshaws between the municipalities of Rupandehi

तिलोत्तमा — रुपन्देहीका केही पालिकाबीच अटो तथा ई–रिक्सा व्यवस्थापन गर्ने सहमति भएको छ ।

बिहीबार सिद्धार्थनगरमा बसेको अन्तरपालिका समन्वय बैठकबाट सिद्धार्थनगरसहित, ओमसतिया, मायादेवी, सियारी गाउँपालिका र जिल्ला सुुरक्षा समितिले ई–रिक्सा व्यवस्थापनलाई प्रभावकारी बनाउने निर्णय गरेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए ।

उनका अनुसार तीनपांग्रे सवारीसाधन दर्ता नगरेका गाउँपालिकाले तीनपांग्रे सवारी नियमन सञ्चालन तथा व्यवस्थापनको काम गर्नुपर्नेछ ।

गत माघ १३ मा भएको बैठकको निर्णयअनुसार तोकिएको समयावधिभित्र कतिपय गाउँपालिकाले कानुन निर्माण लगायतका कार्य बाँकी रहेको देखिएको थापाले बताए । केहीले कानुन निर्माण गरी दर्ता प्रक्रियामा रहेकाले तीनपांग्रे सवारीसाधन व्यवस्थापन तथा नियमनका लागि चैत १० भित्र कार्यसम्पन्न गर्ने निर्णय भएको उनको भनाइ छ ।

बैठकले तीनपांग्रे सवारीसाधनको व्यवस्थापन तथा नियमनका सन्दर्भमा २०८१ चैत ११ देखि सवारीसाधनको कागजात नियमित जाँच कार्यलाई चुस्तदुरुस्त तथा व्यवस्थित गर्नका लागि जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र पालिकाका प्रहरीलाई जिम्मा दिने निर्णयसमेत गरेको छ ।

तीनपांग्रे सवारीलाई चैत ११ देखि जाँचका क्रममा जुन पालिकामा कारबाहीमा परेका हुन् सोही पालिकाको कानुनबमोजिम कारबाही गर्ने निर्णय भएको समन्वय बैठकका अध्यक्ष सिद्धार्थनगर नगरपालिका  प्रमुख इस्तियाक अहमद खाँले बताए ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully