अझै नियन्त्रणमा आएन पाल्पा संसारकोट जंगलको डढेलो

फाल्गुन २१, २०८१

माधव अर्याल

Palpa Samsarnat forest fire is not yet under control

पाल्पा — पाल्पाको रिब्दीकोट गाउँपालिका–१ र २ को संसारकोट डाँडामा मंगलबार दिउँसोदेखि लागेको डढेलो बुधबार बिहानसम्म नियन्त्रणमा आउन सकेको छैन ।

हार्थोकदेखि देउराली हुँदै ख्याहा जोड्ने सडक अन्तर्गत तल्लो र माथिल्लो भागको डाँडा क्षेत्रमा भीषण डढेलो लागेको हो । सल्लाको जंगलमा लागेको डढेलो नियन्त्रणमा लिन तानसेन नगरपालिकाको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, सब–डिभिजन कार्यालयका कर्मचारी, स्थानीय बासिन्दा, जनप्रतिनिधि बुधबार बिहानैदेखि खटिएको रिब्दीकोट गाउँपालिका–२, देउरालीका वडाध्यक्ष ओमप्रकाश पोखरेलले बताए ।

ख्याहाको गैरागाउँ, देउरालीको पोखरडाँडा, लघुवा, डम्बक लगायतका गाउँ डढेलोको जोखिममा रहेको छ । खानेपानीको मुहान, टंकी, विद्युत् ट्रान्सफर्मर जोगाउन सकिए पनि जंगल क्षेत्रमा लागेको डडेलो नियन्त्रणमा लिन नसकिएको रिब्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले जानकारी दिइन् । देउरालीको पोखरडाँडा गाउँ क्षेत्र जोखिममुक्त भएको छ । 

ख्याहाको गैरागाउँ, देउरालीको डम्बक र लघुवा अझै पनि जोखिममा रहेकाले बुधबार बिहानैदेखि स्थानीय बासिन्दा, सुरक्षाकर्मी, जनप्रतिनिधि डढेलो नियन्त्रणका लागि खटिएका छन् । दुई वटा सामुदायिक वनका झण्डै १८ हेक्टर डडेलोले सखाप पारिसकेको छ । जंगलमा भीर पाखा बढी भएको साथै हावा हुरी चलेकाले डढेलो नियन्त्रण लिन नसकेको डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी खिलबहादुर तामाङले जानकारी दिए । डढेलो बिजुली ट्रान्सफर्मर सट भएर लागेको स्थानीयले बताएका छन् । हावाहुरी चलेको र विद्युत् ट्रान्सफर्मरबाट निस्केको आगोले जंगलमा डढेलो लागेको डिभिजन वन कार्यालयका सूचना अधिकारी तामाङले बताए । 

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully