भैरहवा — गृहमन्त्री रमेश लेखकले कोभिडका बेला बन्द दक्षिणतर्फका सबै सीमानाका सञ्चालन हुन थालेको बताएका छन् ।
अध्यागमन कार्यालय बेलहिया भैरहवाको नवनिर्मित भवनको मंगलबार उद्घाटन गर्दै गृहमन्त्री लेखकले पूर्वमा पशुपतिनगरदेखि काँकडभित्ता हुँदै महाकालीसम्मका दक्षिणतर्फका सबै सीमानाका सञ्चालनमा आएको र पर्यटकहरुको आवागमन भइरहेको बताए ।
पर्यटक आवागमनको हिसाबले भैरहवाको बेलहिया अध्यागमन कार्यालय काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलपछिको दोस्रो ठूलो कार्यालय भएको उनले बताए । बेलहिया अध्यागमन कार्यालयलाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन जरुरी रहेको उनको भनाइ थियो ।
'बुद्ध जन्मस्थल लुम्बिनीका कारण बेलहिया नाकाबाट धेरै पर्यटक नेपाल आउने गरेका छन् । पछिल्ला दिनमा सबै नाकाबाट पर्यटक आगमन राम्रो छ । यसलाई व्यवस्थित गरी पर्यटनमैत्री वातावरण बनाइरहेका छौं,' उनले भने ।
अध्यागमन देशको ऐना भएकाले कर्मचारी तथा सुरक्षाकर्मीले पर्यटक र आमसेवाग्राहीलाई नम्र, सरल र मिठासपूर्ण व्यवहार गर्नुपर्ने उनले बताए ।
पछिल्लो समय मुलुकको अर्थतन्त्रमा राम्रा संकेत देखापरेको दाबी गर्दै उनले अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी व्यावसायिक वातावरण बनाउन केही अध्यादेश जारी गरिएको र छिट्टै संसद्बाट पास गरी कार्यान्वयन गरिने बताए ।
