लुम्बिनी — चौथो लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक च्यान्टिङ (पाठ) लुम्बिनीमा बुधबारबाट सुरु हुँदैछ । लुम्बिनीको पवित्रता र आध्यात्मिकता उजागर गरी शान्ति र भ्रातृत्वको सन्देश फैलाउन चारदिने पाठ गर्न लागिएको हो ।
लुम्बिनीस्थित पवित्र बगैंचा रहेको मायादेवी मन्दिर छेउ दक्षिणतिर फागुन २१ गते उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेसँगै सुरु हुने कार्यक्रम फागुन २४ मा सम्पन्न हुनेछ । त्रिपिटक पाठ बिहान साढे ८ देखि साँझ ५ बजेसम्म चल्नेछ ।
१२ मुलुकका एक सय बढी विदेशी भिक्षु र भिक्षुणी सहभागी हुन आएका छन् । त्यस्तै ४ सय बढी नेपाली भिक्षु र गुरुमा सहभागी हुने आयोजक समितिका महासचिव भिक्षु निग्रोध महाअस्थवीरले बताए ।
अखिल नेपाल भिक्षु महासंघद्वारा आयोजित त्रिपिटक च्यान्टिङमा पहिलो दिन सूत्र पिटक, दोस्रो दिन विनय पिटक र तेस्रो दिन अभिधर्म पिटक पाठ गरिनेछ । चौथो दिन समापन कार्यक्रम राखिएको छ ।
‘बुद्ध नेपालमा जन्मे हुर्के,’ अखिल नेपाल भिक्षु महासंघ पूर्वअध्यक्ष भिक्षु मैत्री महाअस्थवीरले भने, ‘उनको देशना संग्रहित बौद्ध धर्मग्रन्थ त्रिपिटकबारे धेरैलाई जानकारी दिन यो पाठ आयोजना गरिएको हो ।’ पवित्र ग्रन्थ लुम्बिनी उद्यानमा पाठ हुनु नेपालीका लागि गौरव र खुसीको कुरा भएको पनि उनले बताए ।
