सिद्धार्थनगरमा सुधारिएको चुल्हो उपलब्ध गराइने  

फाल्गुन २०, २०८१

माधव ढुंगाना

Improved stoves to be provided at Siddharthnagar

भैरहवा — परम्परागत चुल्होको प्रयोग गर्दै आएका सिद्धार्थनगरभित्रका परिवारलाई सुधारिएको चुल्हो उपलब्ध गराउन नगरपालिका र नेपाल ट्रेजर कार्बन लिमिटेडबीच सम्झौता भएको छ ।

नगरपालिकाभित्र सुधारिएको चुलो वितरण गर्न मंगलबार नगरप्रमुख इश्तियाक अहमद खाँ र नेपाल ट्रेजर कार्बन लिमिटेडको तर्फबाट प्रमुख स्टेभेनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

नेपाल ट्रेजर कार्बनले नगरपालिकाको सहयोगमा सिद्धार्थनगर क्षेत्रमा परम्परागत चुल्हो प्रयोग गर्ने घर परिवारको छनोट गर्नेछ । सम्झौताको ६ महिनाभित्र सुधारिएको चुल्हो वितरण गर्ने लक्ष्य रहेको नेपाल ट्रेजर कार्बनकी प्रबन्ध निर्देशक समीक्षा बरालले बताइन् ।  

उनका अनुसार यस्तो चुल्होको प्रयोगले ६० प्रतिशत दाउरा तथा गुइँठाको प्रयोग कम गर्नेछ । 

नगरप्रमुख खाँले नगरवासीको स्वास्थ्यमा सुधार ल्याउने, वातावरण प्रदूषण कम गर्ने एवं खाना पकाउँदा दाउरा, गुइँठाको लागत कम गर्ने उद्देश्यले सुधारिएको चुल्हो वितरण गर्न लागिएको बताए । 

माधव ढुंगाना

Link copied successfully