बर्दिया — अदालतको फैसला आदेशले अंश मुद्दाका फरार प्रतिवादी ८० वर्षीय जेष्ठ नागरिकसहित दुई जना पक्राउ परेका छन् ।
२०६४ साल मंसिर १३ गते जिल्ला अदालत, बर्दियाले ४ हजार ५ सय १० रुपैयाँ ५० पैसा जरिवाना फैसला गरेका अंश मुद्दाका फरार प्रतिवादी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एंव डिएसपी ऋषिराम घर्तीमगरका अनुसार पक्राउ पर्नेमा गुलरिया नगरपालिका–९ गोडियनपुरका ८० वर्षीय द्वारिका चमार रहेका छन् । उनलाई आफ्नै घरबाट पक्राउ गरिएको हो ।
यसैगरी अंश मुद्दाकै गुलरिया–८ भंसार रोडका रहिमत अलीलाई प्रहरीले पक्राउ गरेको छ । बर्दिया जिल्ला अदालतबाट ०७१ साल फागुन २७ गतेको फैसलाले अंश मुद्दामा ४ हजार ८ सय ३७ रुपैयाँ जरिवाना फैसला भई फरार रहेका थिए ।
उनलाई पनि घरबाटै पक्रार् गरिएको हो । दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत, बर्दियामा सोमबार उपस्थित गराइएको थियो ।
