पाल्पा — नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले संसद्मा प्रस्तुत गरिएको सामाजिक सञ्जाल नियमन विधेयक परिमार्जन नगरी पास गर्न योग्य नभएको बताएका छन् ।
सोमबार पाल्पा दरबार संग्रहालयको अवलोकनपछि तानसेनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
नियन्त्रणका नाममा डराउने, तर्साउने, जेल हाल्ने, आर्थिक रुपमा ठूलो दण्ड सजाय गर्ने कुराले सामाजिक सञ्जालको नियमन गर्न नसकिने उनको भनाइ छ ।
उनले भने, ‘यो विधेयकले हाम्रो संविधानमा प्रदत्त गरिएको वाक स्वतन्त्रताको सिद्धान्तलाई निषेध र नियन्त्रण गर्न खोजिएको छ । संविधानले दिएको अधिकारलाई सुनिश्चित गर्दै सम्मानपूर्वक उपयोग गर्न मिल्नेगरी विधेयक परिमार्जन गर्नुपर्ने उनले बताए ।
‘नियमन गर्ने भए पनि सर्वस्वीकार्य हुनुपर्छ,’ उनले भने । फेसबुक, ट्वीटर, टिकटक, वीच्याट लगायतका सबै सञ्जालले नेपालमा सञ्चालन गर्नका लागि कार्यालय राखेर त्यसको सञ्चालन गर्ने वातावरण मिलाउनुपर्ने उनको भनाइ छ । त्यसो हुनसक्यो भने कानुनी दायरामा ल्याएर संप्रेषित सामग्रीलाई नियमन र जनताको पक्षमा हुनेगरी लैजान सकिने उनले बताए ।
