भैरहवा — मुलुकको ठूलो दल नेपाली कांग्रेसले आफ्ना अगुवा कार्यकर्तालाई सामाजिक सञ्जालको प्रयोग र प्रभावबारे सिकाउने भएको छ ।
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबारबाट भैरहवामा आयोजना गरेको क्षेत्रीय सभापति प्रशिक्षण कार्यक्रमको मुख्य एजेन्डाका रूपमा सामाजिक सञ्जालको प्रयोगमार्फत पार्टीको बिस्तार कसरी गर्न सकिन्छ भन्ने रहेको छ ।
सोमबार मध्याह्न सुरु बन्द सत्रमा सामाजिक सञ्जालको प्रभावकारी सदुपयोग कसरी गर्न सकिन्छ भन्नेबारे सिकाइने कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक तथा पूर्णबहादुर खड्काले जानकारी दिए । ‘पहिलोपटक सामाजिक सञ्जालको प्रयोगमार्फत पार्टी बिस्तारका सम्बन्धमा पाठ्यक्रम नै समावेश गरेर छलफल गर्दैछौं,’ खड्काले भने, ‘अहिलेको समयमा पार्टीको बिस्तार र पहुँचका लागि सामाजिक सञ्जालको प्रयोग जरुरी छ ।’ यसबाहेक बन्द सत्रमा पार्टीको क्रियाशील सदस्यता र सांगठनिक अवस्था र समसामयिक मुद्दा लगायत विभिन्न ६ वटा विषयमा विज्ञहरूले प्रस्तुति दिनुहुनेछ ।’
कार्यक्रममा सहभागी पाहुनालाई अन्य सहभागीसँगै अग्रपंक्तिमा राखिएको छ । प्रशिक्षण कार्यक्रमका अतिथिलाई फूलमाला र खादा पहिर्याइएन ।
पाहुनालाई पुष्प गुच्छाले मात्र स्वागत गर्ने परम्परा सुरुआत गरिएको खड्काले जनाए । प्रशिक्षण मुलुकभरका एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका १ सय ३० जना क्षेत्रीय सभापति, १ सय ३० जना क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका क्षेत्रीय सभापति र उपसभापति ७० जना गरेर ३ सय ३० जनाको सहभागिता रहेको छ । पार्टीका जिल्ला, प्रदेश र संघीय प्रतिनिधिको सहभागिता रहेछ ।
प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय नेताको जमघट छ । कार्यक्रममा सभापति शेरबहादुर देउवा, उपसभापति खडका, पार्टीका नेताहरू कृष्ण सिटौंला, विमलेन्द्र निधि, शशांक कोइराला, पार्टी कोषाध्यक्ष उमेश श्रेष्ठ, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, डा. प्रकाशशरण महत, केन्द्रीय समिति सदस्य, संघ र प्रदेशका सांसद, पार्टीका प्रदेश सभापति, जिल्ला सभापतिलगायत नेता, कार्यकर्ताको उपस्थिति रहेको छ ।
