दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई सरकारद्वारा निर्धारण गरिएका नीति, नियम र मापदण्डहरूको पूर्ण रूपमा पालना गरेर सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।
सोमबार तुलसीपुरस्थित राप्ती लाइफ केयर हस्पिटल प्रालि मोतीपुरको भवन उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्र अति संवेदनशील भएकोले सरकारले निर्धारण गरेका मापदण्डहरूको पालना गर्न आवश्यक रहेको बताए ।
'स्वास्थ्य क्षेत्र प्रत्येक नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र हो । त्यसैले राज्यका नीति, नियम र मापदण्डको पूर्ण पालना गर्दै निजी क्षेत्रका अस्पतालहरू चल्नुपर्छ,' उनले भने, 'प्रदेश सरकार निजी क्षेत्रलाई निरुत्साहित गर्ने नीति लिँदैन, बरु हातेमालो गर्दै अगाडि बढ्ने नीति अवलम्बन गर्छ।’ निजी क्षेत्रबाट हुने लगानीलाई सुरक्षित राख्दै नियमनका माध्यमबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सरकार प्रतिबद्ध रहेको उनले बताए ।
उनले प्रदेश सरकारले स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राख्दै सर्वसुलभ र सबै नागरिकको पहुँचमा पुर्याउने नीति लिएको बताए ।
