बुटवल — निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को फागुन २६ र २७ मा काठमाडौंमा हुन लागेको १६औं केन्द्रीय अधिवशेनमा एमालेनिकट उम्मेदरलाई विजयी गराउन पार्टी अध्यक्षले नै आन्तरिक सर्कुलर जारी गरेका छन् । प्याब्सन महाधिवेशनका लागि फागुन २१ गते उम्मेदवारी दर्ता गर्ने निर्वाचन तालिका छ ।
प्याब्सनको आगामी महाधिवेशनमा पार्टीका आधिकारिक उम्मेदवार टीकाराम पुरी नेतृत्वको प्यानललाई विजयी गराउन एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले आन्तरिक सर्कुलर गरेका हुन् ।
अध्यक्ष कँडेलले लुम्बिनी प्रदेशका १२ वटै एमाले जिल्ला अध्यक्षमार्फत शिक्षकलाई सर्कुलर गरेका छन् । पुरी कोशी प्रदेशको मोरङका एमाले नेता पनि हुन् । उनी अहिले प्याब्सनको निवर्तमान अध्यक्ष एवं सल्लाहकार हुन् ।
अध्यक्ष कँडेलले फागुन ११ गतेको मितिमा पठाइएको सर्कुलरमा प्याब्सन देशव्यापी रूपमा सञ्जाल भएको महत्त्वपूर्ण संगठन भएको उल्लेख छ । ‘उक्त महाधिवेशनमा केन्द्रीय अध्यक्षका रूपमा श्री टीकाराम पुरीको उम्मेदवारी रहेको हुँदा जिल्ला र सोमातहत रहेका कमिटी र सम्बन्धित पार्टीपंक्तिलाई टीकाराम पुरी नेतृत्वको समूहलाई विजयी गराउन आवश्यक समन्वय र सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं,’ सर्कुलरमा भनिएको छ ।
उनले आवश्यक सम्पर्कका लागि लुम्बिनी प्रदेश कार्यालय सचिव कृष्ण खनाल, टीकाराम पुरी, भोजबहादुर शाह र पार्वती रावलको सम्पर्क नम्बर पनि पत्रमा उल्लेख गरेका छन् ।
नेकपा एमालेका लुम्बिनी प्रदेश कार्यालय सचिव कृष्ण खनालले पार्टीले आफ्ना उम्मेदवार विजयी गराउन आन्तरिक सर्कुलर गर्नु ठूलो विषय नभएको बताए । ‘यो हरेक पार्टीले गर्छन्, गरेकै हुन्छन् । सामान्य विषय हो,’ उनले भने, ‘आन्तरिक पत्र बाहिर सार्वजनिक भएको मात्रै हो, पार्टीमा आस्था राख्ने शिक्षकहरूमा कुनै समस्या छैन ।’
प्याब्सन निर्वाचनमा अन्य पार्टीका शिक्षक पनि उम्मेदवार रहेको र सबै दलले त्यस्तै सर्कुलर गरेको उनले बताए ।
