दाङ — लुम्बिनी प्रदेश सरकारले वन उपभोक्ता महासंघसँग वार्ता गर्न उच्चस्तरीय समिति गठन गरेको छ । सामुदायिक वन उपभोक्ता महासंघले राखेका विभिन्न मागबारे छलफल गर्न आइतबार मुख्यमन्त्रीस्तरीय बैठकबाट उच्चस्तरीय वार्ता समिति गठन गरिएको हो ।
लुम्बिनी प्रदेशसभा अन्तर्गत रहेको कृषि, वन तथा वातावरण समितिका सभापती विश्वप्रेम पाठक संयोजक रहेको पाँच सदस्यीय वार्ता समिति गठन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव मोहन अर्यालले जानकारी दिए ।
समितिमा लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ईश्वरराज पौडेल, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डिलाराम पन्थी र सदस्य सचिवमा वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्ले रहेका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघले प्रदेश आर्थिक ऐन २०८१ बमोजिम सामुदायिक वन उपभोक्ता समूहमा लगाएको वन पैदावार शुल्क खारेजी लगायतका माग राख्दै आइतबारदेखि अनिश्चितकालिन धर्ना शुरु गरेपछि वार्ता समिति गठन भएको हो ।
