सामाजिक सञ्जालमा अराजकता फैलाउने छुट कसैलाई छैन : मुख्यमन्त्री आचार्य

फाल्गुन १७, २०८१

घनश्याम गौतम

No one is free to spread chaos on social media: Chief Minister Acharya

देउखुरी — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रेस स्वतन्त्रताको नाममा सामाजिक सञ्जालमा फैलिरहेको अराजक प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन । समाजमा अराजकता फैलाउने छुट कसैलाई पनि नभएको उनले बताए ।

प्रेस चौतारी लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई देउखुरीमा शनिबार सम्बोधन गर्दै उनले त्यसलाई चिर्न पत्रकार पनि जिम्मेवार बन्नुपर्ने बताए । `सामाजिक सञ्जाललाई मर्यादित बनाउन जरुरी छ। अराजकता फैलाउने छुट कसैलाई छैन,´ उनले भने, ‘पत्रकारिता क्षेत्रमै विकृति र विसंगति देखिएको छ । यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न पत्रकारसहित सबै पक्षको ध्यान जान आवश्यक छ ।’

मुख्यमन्त्री आचार्यले पत्रकारिता र आम सञ्चारमाध्यमको सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । 'सरकारले नीति, नियम तथा कानुन निर्माण गर्दा सरोकारवालासँग छलफल गरेरै अघि बढ्दै आएको छ,’ उनले भने, ‘अहिले केही विषय रोकिएका छन्, त्यसमा म जानकार छु । पत्रकारिता क्षेत्रका सरोकारवालासँगको साझा निष्कर्षका आधारमा अगाडि बढ्नेछौं ।´

उनले पत्रकारिता क्षेत्रको प्रवर्द्धनका लागि आवश्यक कानुन संशोधन गर्ने तथा पत्रकार हितलाई संरक्षण गर्ने प्रतिबद्धता जनाए ।

अधिवेशनमा प्रेस चौतारी लुम्बिनीका झन्डै २ सय प्रतिनिधि सहभागी छन् ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully