७० प्रतिशत घरेलु हिंसा घरभित्रै : मन्त्री तिमिल्सिना

फाल्गुन १७, २०८१

सन्जु पौडेल

70 percent of domestic violence is inside the home: Minister Timilsina

तिलोत्तमा — लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले ७० प्रतिशत लैंगिक हिंसाका घटना घरभित्रबाटै हुने बताएका छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजनाले शनिबार तिलोत्तमामा आयोजना गरेको सामाजिक रुपमा रहेका हानिकारक अभ्यास, लैंगिक विभेद तथा हिंसाविरुद्ध सचेतनामूलक कार्यक्रममा बोल्दै उनले त्यसबाहेक २३ प्रतिशत घटना घरकै अन्य सदस्यबाट हुने गरेको तथ्यांकले बताउने जनाए । 

उनले लैंगिक हिंसाविरुद्धको अभियानमा महिलाको उत्साहजनक सहभागिताले महत्व राख्ने पनि बताए । मन्त्री तिमिल्सिनाले हिंसा हुनुमा महिला अशिक्षित हुनु, सानै उमेरमा विवाह हुनु र पारिवारिक दबाबले हुने विवाह आदि कारण रहेको भनाइ राखे । 'हाम्रो प्रदेशमा भने महिला साक्षरता दर प्रतिशतका हिसाबले राम्रै छ,' उनले भने, 'साक्षरताका पछाडि लुकेको हिंसाको जरो खोतल्न र त्यसको निर्क्यौल गर्ने तरिकाबारे बुझ्न जरुरी रहेको छ ।'

तिलोत्तमा नगरपालिकाले सूचक तयार गरेर लैंगिकमैत्री पालिका बनाउन लागिरहेको उनको भनाइ थियो । 'सबैले प्रयास गर्ने हो भने प्रदेशमा लैंगिक हिंसाका घटनामा कमी हुने निश्चित छ,' उनले भने, 'जनप्रतिनिधिले नागरिकलाई आफ्नो उपस्थिति देखाउने पनि यस्तै काम गरेर हो ।' 

तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले लैंगिक हिंसाविरुद्धका यस्ता कार्यक्रम समाजका लागि प्रभावकारी रहेको बताए । 'हामी लैंगिक हिंसा हुनुहुँदैन भन्ने जागरुकता ल्याउन पटकपटक छलफल गर्छौं, महिलाका कुरा सुन्छौं, हिंसा कम गर्ने माध्यम पहिचान गर्नतर्फ ध्यान दिन्छौं,' उनले भने, 'तर यसका लागि सबैको साथ । सहयोग चाहिन्छ ।'

उपप्रमुख जगेश्वरदेवी चौधरीले पालिकालाई लैंगिकमैत्री बनाउन हरेक तहसँग छलफल गरेर सूचक तयार गरिसकेको जनाइन् । 

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully