रुकुम पूर्व — मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्व–बागलुङ खण्डमा सवारी आवागमन अवरुद्ध भएको छ । अत्यधिक रुपमा परेको हिउँका कारण शुक्रबार कुनै पनि सवारी साधन चल्न नसकेका हुन् ।
समुन्द्री सतहबाट करिब ३२ सय मिटर उचाईमा रहेको रुकुमपूर्व र बागलुङको सिमानास्थल पातिहाल्ने र आसपासमा बिहानैदेखि हिमपात भैरहेकोले उक्त सडक खण्डमा आवागन ठप्प भएको जिल्ला प्रहरी प्रमुख डीएसपी माधवराज खरेलले बताए । ‘बिहानसम्म काठमाडौंतर्फबाट आउने केही ठूला सवारी साधनहरु जसोतसो आए । तर हिउँ बढेपछि अहिले कुनै पनि सवारी आवतजावतको सम्भावना छैन,’ उनले भने, ‘हामीले यो बाटो भएर जाने सवारी साधनलाई नजान अनुरोध गरेका छौं ।’
हिमपातका कारण यस क्षेत्रमा बर्सेनि आवागमन अवरुद्ध हुने गरेको छ । हिउँ केही कम भएपछि केहीले चुनौती मोलेर गाडीहरु चलाउने गरिएपनि हिउँ हटाएर आवागमनलाई सहज गर्ने उपायबारे भने सरकार र सरोकारवालासँग कुनै विकल्प छैन । मध्यपहाडी लोकमार्ग भएर रुकुमपूर्व सँगै रुकुम पश्चिम र जाजरकोटलगायतका जिल्लाका तथा पश्चिम तर्फबाट सवारी साधनहरु बागलुङ, पोखरा र काठमाडौंतर्फ आउजाउ गर्छन् ।
लामो समयको खडेरीपछि बिहीबार रातिबाट मध्यपहाडी लोकमार्गको यस स्थानसँगै जिल्लाका विभिन्न उच्च पहाडी तथा हिमाली भेगमा पानीसँग हिमपात भएको छ । यसले किसान र पशुपन्छीलाई फाइदा पुर्याउने भए पनि वर्षा र हिमपात भैरहेमा भने जनजीवन कष्टकर हुनसक्ने पुथाउत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनीराज घर्तीले बताए ।
