करोडौं खर्चिएको रामपुर सडक स्तरोन्नतीमा ढिलाई

हिउँदयाममै सवारी साधन धकेल्नुपर्ने बाध्यता

फाल्गुन १६, २०८१

माधव अर्याल

Delay in upgrading Rampur road costing crores

पाल्पा — वर्षायाममा चिप्लिनु, नतान्नु र हिलाम्मे भएर सवारी साधनले नतान्नु सामान्य नै हुन्छ । तर हिउँदयाममा समेत सवारी साधन धकेल्नुपर्ने बाध्यता पाल्पाको रामपुर–मित्याल–अरुणखोला सडकमा कायमै छ ।

रामपुरस्थित कालीगण्डकी करिडोर सडकबाट मित्याल हुँदै गण्डकी प्रदेशको पूर्व नवलपरासी अरुणखोला पूर्वपश्चिम महेन्द्र राजमार्ग जोड्ने सडकका विभिन्न स्थानमा अहिले पनि सवारी चालक र यात्रुले सास्ती भोग्नु परेको हो । यो सडकको ट्र्याक भने १५ वर्षअघि नै खुलेको हो । तर समयमा स्तरोन्नती नहुँदा सवारी साधनका चालक र यस भेगका यात्रुले वर्षा होस् वा हिउँद जतिबेलै सास्ती भोग्दै आएको गुनासो गरेका छन् ।

सडक अन्तर्गत मित्यालदेखि अरुणखोलाको बीचमा धेरै स्थानमा सडक बिग्रेको छ । सडक डिभिजनले ठेक्का लगाउने तर निर्माण व्यवसायीले समयमा काम नगर्दा मित्यालको चिरुबास र मुढाबासको बीचमा पर्ने गुरुभन्ज्याङ क्षेत्रमा वर्षायाममात्र होइन हिउँदमासमेत सवारी साधन सञ्चालनमा कठिनाई भएको स्थानीय यमबहादुर सारु मगरले बताए । यहाँ गग्रेटो सडकले सवारी साधन सञ्चालनमा कठिनाई हुने गरेको छ । बेलडाँडादेखि मित्यालसम्म पनि अवस्था उस्तै रहेको उनको गुनासो छ । 

छोटो दुरीमै पहाडदेखि तराई पुग्ने यस भेगका बासिन्दाको सपना पूरा गर्न झण्डै पाँच दशकअघि सडक खन्न सुरु भएको थियो । १५ वर्षअघि ट्रयाक खुलेपनि अरुणखोला क्षेत्रमा ५ सय मिटर स्तरोन्नती नभएर ८ वर्षसम्म अलपत्र परेको थियो । स्थानीय तहको निर्वाचनपछि अरुणखोलासम्म सडक स्तरोन्नती सकिएको छ । गण्डकी प्रदेशको क्षेत्रमा पर्ने झण्डै ९ किलोमिटर सडक कालोपत्रसमेत भइसकेको छ ।

Delay in upgrading Rampur road costing crores

पाल्पातर्फ निस्दी गाउँपालिका–४, मित्यालको दक्षिण भागमा भने सडक डिभिजन कार्यालय पाल्पाले काममा ढिलासुस्ती गर्दा वर्षायाम मात्र नभई हिउँदयाममै सवारी साधन धकेल्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा लालबहादुर थापाले बताए । वर्षायाममा चार महिना स्थानीयले जहिलेसुकै सास्ती खेप्दै आएका थिए । सडकको ५० वर्षअघि रेखांकन सुरु भएको हो । सरोकारवाला निकायको ढिलासुस्तीले बेलडाँडादेखि अरुणखोला जलुकेघाटसम्मको २६ किलोमिटर सडक स्तरोन्नतीको काम अहिलेसम्म पूरा हुन नसकेको हो । 

२०७४ सालपछि निस्दी गाउँपालिका केन्द्र जोड्ने पहुँचमार्ग सडक यही हो । यही सडक अन्तर्गत पर्ने रामपुरदेखि गल्धा बेलडाँडासम्मको ७ किलोमिटर सडक २०६८ सालमा ओटासिल भएको थियो । मर्मतसम्भारको अभावमा सडकको कालोपत्र उप्किएर सवारी साधन सञ्चालन हुनै नसक्ने अवस्थामा पुगेको स्थानीय बासिन्दा तथा निस्दी गाउँपालिका उपाध्यक्ष तिरनकुमारी श्रेष्ठले बताइन् । उनका अनुसार मर्मतसम्भार नभएर सडकमा परेका खाल्डाखुल्डी र धुलाम्मे भएपछि सवारी साधनले रुट नै परिवर्तन गरेका छन् । साना सवारी साधन चल्नै नसक्ने गरी सडक बिग्रिएको छ । 

‘कालीगण्डकी करिडोरले सिद्धार्थ राजमार्गको पिपलडाँडासम्म कालोपत्र गरेपछि बेलडाँडाबाट पुरानो आर्यभन्ज्याङ जोड्ने सडकमा सवारी सञ्चालनमा कमी आएको छ,’ उनले भनिन्, ‘मित्याल, गल्धा, अर्चले भेगका बासिन्दासमेत सदरमुकाम जान पर्दा रामपुर भएर जाने गरेका छन् ।’ उनका अनुसार बेलडाँडादेखि मित्याल जाने सडकमा संघीय सडक डिभिजनले काम गर्दा प्रदेश र स्थानीय सरकारले बजेट विनियोजनमा समस्या भएको छ । 

सडक स्तरोन्नतीको काममा ढिलासुस्ती हुँदा यात्रुले जहिलेसुकै सास्ती खेप्नु परेको हो ।  संघीय, प्रदेश र स्थानीय तहबीचको समन्वय अभावमा हरेक वर्ष विनियोजन हुने करोडौं बजेटको सही सदुपयोगसमेत हुन नसकेको उपाध्यक्ष श्रेष्ठको गुनासो छ । ‘जसले गर्दा सडक डिभिजनबाट हुने काममासमेत लापरबाही भएको छ,’ उनले भनिन्, ‘बजेट विनियोजन हुन्छ । ठेक्का पनि लाग्छ तर त्यसको सही ढंगले काम नहुँदा यस भेगका बासिन्दाले जहिलेसुकै सास्ती खेप्नु पर्ने बाध्यता छ ।’ गत वर्ष कमसल काम गरेको भेटिएपछि भत्काएर पुनः काम गर्न लगाएको उनले बताइन् । 

कालीगण्डकी करिडोरको रामपुरदेखि ४७ किलोमिटर दुरीमै महेन्द्र राजमार्ग पुग्न सकिन्छ । यस भेगका बासिन्दालाई अर्को सडक प्रयोग गर्दा भने झण्डै १ सय १० किलोमिटर लामो यात्रा तय गर्नुपर्छ । गाउँमा उत्पादन भएका सामग्रीलाई बजारसम्म पुर्‍याउन, बिरामीलाई उपचार गर्न लैजान, आवतजावत गर्न समस्या भएको मित्यालका बासिन्दा पदमबहादुर खाम्चाले बताए । ‘सडक स्तरोन्नतीमा समयमै ध्यान नदिएकाले अहिलेसम्म हामीले धेरै सास्ती खेप्नुपरेको छ,’ उनले भने, ‘यसका लागि सबैको दबाब जरुरी छ । बजेट सधै विनियोजन भएर आउँछ तर काम पूरा कहिल्यै हुँदैन ।’

यही सडक भएर महेन्द्र राजमार्ग पुग्ने यस भेगका बासिन्दाको सपना भने २०३० सालदेखिकै थियो । यही सडकका अभियान्ता लक्ष्मीप्रसाद ज्ञवालीको एक्लो प्रयासले १२ वर्षअघि सरोकारवालालाई घच्घच्याएपछि ट्र्याक व्यवस्थित भएको हो । ज्ञवालीले एक्लो लगानीमा करोड बढी खर्च गरेर ट्र्याक खोलेका थिए । पछिल्ला वर्षमा संघीय सरकारले हरेक वर्ष कम्तीमा ५ करोड बढी बजेट विनियोजन भए पनि निर्माण व्यवसायीको लापरबाहीले काम अलपत्र हुने गरेको छ । 

अरुणखोलाको पाल्पा र पूर्व नवलपरासी जोड्ने जलुके घाटमा पक्की पुल निर्माण भएको छ तर त्यहाँसम्म पुग्ने सडक स्तरोन्नती नहुँदा चालक र यात्रुले सधै सास्ती खेप्नु परेको निस्दी गाउँपालिका–४, मित्यालका वडाध्यक्ष सन्तबिर सुनारीले बताए । ‘सडक डिभिजनबाट सधैं बजेट विनियोजन भएको सुनिएको छ,’ उनले भने, ‘तर सडक स्तरोन्नती भने हुन सकेको छैन ।’ 

सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले रामपुर–मित्याल–अरुणखोला सडकमा विगतमा ठेक्का लागेपनि निर्माण व्यवसायीले समयमा काम नगर्दा समस्या भएको बताए । ‘विगतका ठेक्काको काममा ढिलाई हुँदा समस्या भएको हो,’ उनले भने, ‘यो सडकमा तीन चार वर्ष पुराना ठेक्कासमेत छन् जसले गर्दा काममा केही ढिलाई भएको हो ।’ अघिल्लो वर्ष १ करोड १२ लाख र यस वर्ष १ करोड १३ लाख बजेट विनियोजन भए पनि पुराना काम नसकिएकाले दुई वर्षदेखि ठेक्का लाग्न सकेको छैन । 

सडक डिभिजन पाल्पाले रामपुर–मित्याल–जलुकेघाट अरुणखोला सडकमा लगाएको तीन वटा ठेक्काको काममा ढिलाई भएकाले पुनः ठेक्का लगाउन नसकेको जनाएको छ । दुवै ठेक्काका निर्माण व्यवसायीले समयमा काम गरेका छैनन् । सडक अन्तर्गत निस्दी गाउँपालिका अन्तर्गत सुवेदी निर्माण सेवा, भिमाद तनहुँले १ करोड ९३ लाख २१ हजार लगत इस्टिमेट रहेको ठेक्का १ करोड ४ लाख ४७ हजारमा सम्झौता गरेर काम सकेको छैन । 

२०७८ असार ६ गते सम्झौता गरेको निर्माण व्यवसायीले २०८० असार २५ गते सम्पन्न गर्नुपर्ने हो । रिटेनिङ वाल, नाली निर्माण, ग्याबिन, चौडा गर्ने लगायतका कामको ठेक्का सम्झौता भएको छ । यसको ८२ प्रतिशत काम भएको छ । अमृत कन्स्ट्रक्सन पाल्पामार्फत २०७८ फागुन २ गते सम्झौता भएर २०७९ असार २५ गते सक्नेगरी अर्को ठेक्का १ करोड ९२ लाखको काम ९७ लाख ५४ हजारमा भएको थियो । जसको ठेक्का अनुसार ६० प्रतिशत काम भएको छ । 

चण्डी निर्माण सेवाले पनि यही क्षेत्रमा काम गरेको छ । २०७८ फागुन २ गते ठेक्का लिएको हो । चण्डीको ७७ लाख ६८ हजारको ठेक्का रहेकामा जसको ६० प्रतिशत काम गरेको छ । अमृत कन्स्ट्रक्सन र चण्डी निर्माण सेवा रुपन्देहीले कामलाई निरन्तरता दिएका छन् । डिभिजन सडक कार्यालयका अनुसार सुवेदी कन्स्ट्रक्सनले काम गर्ने प्रतिवद्धता जनाएको छ । सदरमुकामदेखि ७० किलोमिटर टाढाको निस्दीमा भएको ठेक्कामा सरोकारवाला निकायकोसमेत चासो कमै पुग्ने भएकाले पनि काममा ढिलासुस्ती हुँदै आएको स्थानीय खुम सारु मगरले बताए ।  

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully