भूमहीमा शैक्षिक तथा सांस्कृतिक मेला सुरु

फाल्गुन १५, २०८१

नवीन पौडेल

Educational and cultural fair started in Bhumi

परासी — पश्चिम नवलपरासीको सुनवल–१२ भूमहीमा ५ दिने प्रदेशस्तरीय शैक्षिक तथा सांस्कृतिक मेला बिहीबारदेखि सुरु भएको छ ।

मेलाको लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री आचार्यले युवाहरू सिर्जनशील हुँदा समाजमा सकारात्मक प्रभाव पर्ने भएकाले उद्यमशीलता र नयाँ कुरा सिक्ने र सिर्जनशीलता बढाउन लागि पर्नुपर्ने बताए ।

लुम्बिनी प्रदेशका समाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले शिक्षा क्षेत्रबाट नै प्रदेशको विकास हुने भएकाले प्रदेशस्तरीय शैक्षिक तथा सांस्कृतिक मेला महत्त्वपूर्ण हुने बताए ।

रामनगर जेसिजको आयोजनामा सुरु भएको मेलामा शिक्षक शिक्षिकालाई तालिम, विद्यार्थीहरूलाई नेतृत्व विकास, लागूऔषध सम्बन्धी सचेतना लगायत विभिन्न संघ संस्थाका नेतृत्वकर्तालाई भाषणकला तालिमको व्यवस्था छ ।

सांस्कृतिक कार्यक्रममा विभिन्न जातजाति भाषा भाषिका कला संस्कृति प्रस्तुत गर्नुका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरूले प्रस्तुति रहने रामग्राम जेसिज २०२५ का अध्यक्ष रमेश पराजुलीले बताए । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully