बर्दियामा अक्सिजन उत्पादन बन्द भएपछि बिरामी समस्यामा

फाल्गुन १३, २०८१

कमल पन्थी

Patient in trouble after oxygen production stopped in Bardia

बर्दिया — बर्दिया जिल्ला अस्पताल, गुलरियामा अक्सिजन उत्पादन बन्द भएको छ । कोभिडको समय अक्सिजनको अभाव खट्किएपछि संघीय सरकारको सहयोगमा अस्पताल हातामा तीन वर्षअघि प्लान्ट स्थापना गरिएको थियो ।

दैनिक २० एमएम अक्सिजन उत्पादन हुँदै आएको प्लान्टलाई तीन वर्षमा सर्भिसिङ गर्नुपर्ने हुन्छ ।

अस्पतालका मेडिकल सुपरिन्टेन डा. सुभाष पाण्डेयले अक्सिजन प्लान्ट करिब ६ महिनादेखि बन्द भएको बताए । 'सर्भिसिङ गर्न ५ लाख ३६ हजार रुपैयाँ चाहिने थियो,’ उनले भने, ‘सरकारसँग रकम गरे पनि उपलब्ध नहुँदा प्लान्ट बन्द भएको हो ।'

अस्पताल हाताभित्र निर्माण गरिएको प्लान्टबाट अक्सिजन स्टोर गर्न पाइप लाइन जडान गरिएको छ । ८१ लाख ९० हजारभन्दा बढीको लागतमा अक्सिजन प्लान्ट निर्माण भएको थियो भने ४५ लाख लागतमा पाइप लाइन विस्तार गरिएको थियो । प्लान्टका लागि १८ लाखको लागतमा भवन निर्माण गरिएको अस्पतालले जनाएको छ । प्लान्टमा ७५/७५ लिटर क्षमताका ठूला सिलिण्डर छन् ।

संघीय सरकारको ससर्त अनुदानमा अक्सिजन प्लान्ट स्थापना भएको हो । प्लान्ट बन्द भएपछि बिरामी प्रभावित भएका छन् । अक्सिजनका लागि अहिले नेपालगन्ज र कोहलपुर जानुपर्ने बाध्यता रहेको छ ।

कोभिडका समय ‘मेरो लागि अक्सिजनमा मेरो योगदान’ भन्ने उद्देश्यका साथ यहाँका युवा व्यवसायीले अक्सिजन बैंकको स्थापनामा ठूलो योगदान गरेका थिए ।

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully