रोल्पा — पश्चिम रोल्पाको त्रिवेणी गाउँपालिका-६ थुम्का टोलमा बस्ने ४० वर्षीय खिमबहादुर बुढा मगरलाई आफ्नै श्रीमतीमाथि खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार मंगलबार बिहान उक्त घटना भएको जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीले ३२ वर्षीया श्रीमती अस्मिता बुढा मगरको हत्यामा संलग्न भएको आरोपमा खिमबहादुरलाई पक्राउ गरेको हो। मृतकको घाँटीमा खुकुरीले रेटिएको जस्तो घाउ भएको प्रहरी अनुसन्धानबाट पत्ता लगाएको छ।
घटनाको अनुसन्धान गर्न नेर्पास्थित प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक दिवस हिताङको नेतृत्वमा ४ जना र इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षक सरोज प्रजापतिको नेतृत्वमा थप ६ जना गरी १० जनाको प्रहरी टोली घटना स्थल पुगेको छ।
थुम्का स्थानीय काउलाबोट गाउँदेखि नजिकै पर्छ । खिमबहादुरको परिवार केही वर्ष अघि माडी र सुकीदह-गंगादेवको सिमानामा पर्ने ओतगाउँबाट बसाइँसराइ गरेर आएको स्थानीयले बताए। घटना हुनुको कारण भने थाहा हुन सकेको छैन। घटना स्थल गाउँपालिकाको केन्द्र नेर्पा बजार देखि दुई घण्टा पश्चिमी भेगमा पर्छ। रोल्पा सदरमुकाम लिवाङबाट भने करिब ६० किलोमीटर पश्चिममा पर्छ।
रोल्पास्थित जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शाहीले घटनाबारे अनुसन्धान जारी राखिएको र मृतक अस्मिताको शवलाई पोस्टमार्टमका लागि अस्पतालमा पठाउने तयारी गरिएको बताए । घटना स्थलबाट प्रहरीले खुकुरीसमेत बरामद गरेको छ।
पछिल्लोपटक रोल्पामा व्यक्ति हत्याका घटनामा वृद्धि भएकोमा नागरिक समुदाय चिन्तित बनेको छ। केही अघि जिल्लाको पूर्व भाग गाम गाउँमा आफ्नै छोराले बुबाको हत्या गरेका थिए भने त्यस गाउँसँगैको उवा गाउँमा जिप चालकको पनि हत्या भएको थियो । हत्यामा संलग्न भएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
