माओवादीको राजनीति हिंसामुक्त भएन : महामन्त्री थापा

फाल्गुन १२, २०८१

काशीराम डाँगी

Maoist politics was not free from violence: Mahamantri Thapa

रोल्पा — कांग्रेसका महामन्त्री गगन थापाले माओवादीको राजनीति हिंसामुक्त नभएको टिप्पणी गरेका छन् । कार्यकर्ता जागरणको 'एक सय दिने विशेष अभियान' अन्तर्गत रोल्पा सदरमुकाम लिवाङमा आइपुगेका महामन्त्री थापाले आइतबार लिवाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै हिंसात्मक राजनीति अहिलेको आवश्यकता नभएको बताए ।

'माओवादीले यहीँबाट थालेको सशस्त्र द्वन्द्वका क्रममा कैयौंको ज्यान गयो। त्यो हिंसात्मक राजनीतिले सर्वसाधारणमाथि ज्यादती निम्त्यायो,' उनले भने, 'हुन त कांग्रेसले २००७ र २०४६ मा आन्दोलन गरेको भएपनि हतियारको दबाबको अवस्था थिएन।' 

माओवादीले व्यक्ति हत्याको राजनीतिलाई प्रश्रय दिएको महामन्त्री थापाले आरोप लगाए । रोल्पाबाट माओवादीले सशस्त्र द्वन्द्वको सुरुआत गर्नुअघि कांग्रेस कार्यकर्ताको ज्यान लिएको स्मरण गर्दै उनले शान्ति प्रक्रिया टुंगोमा पुग्दै गर्दा पनि हत्याको शृङ्खला नरोकेको बताए । 'माओवादीले द्वन्द्व थाल्नु अघि रोल्पाका अमर झाँक्रीदेखि नैनसिंह खत्रीसम्मको ज्यान लिए। त्यतिमात्र होइन, द्वन्द्व सकिएपछि युवा नेता रोहित पुनको समेत यहीँ हत्या भयो। के यो हिंसाको उत्कर्ष वा उग्र रुप होइन ?' उनको प्रश्न थियो।

उनले माओवादीका कारण कांग्रेसका करिब १ सय २२/२३ जनाको हत्या गरेकोमा आपत्ति जनाए । उनले भने, 'म हरेक जिल्लामा पुग्दा सहिद कांग्रेस कार्यकर्ताको सूची माग्छु। सम्भव भए सबैको नामावली वाचन गर्छु। तर रोल्पामा यति धेरैको हत्या गरिएको छ कि म सबैको नामावली यहाँ वाचन गर्न सम्भव देख्दिनँ।'

कांग्रेसले पटकपटक हतियार उठाएर राजनीतिक फेरबदलमा अग्र भूमिका निभाए पनि कुनै नागरिक माथि हिंसा नगरेको र हिंसामा विश्वास नगर्ने महामन्त्री थापाको धारणा थियो । 'तर माओवादीले पार्टीका नेता कार्यकर्ताको खोजीखोजी ज्यान लियो । किनभने उनीहरूले 'जय नेपाल' भन्थे।' व्यक्ति हत्याको शृङ्खला हिजो पनि गलत भएको र भोलि पनि गलत हुने उनले कार्यक्रममा बताए ।

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully