पर्यटकमैत्री व्यवहारका लागि चालक र सहचालकलाई तालिम

फाल्गुन ११, २०८१

रुपा गहतराज

Training drivers and co-drivers for tourist-friendly behavior

नेपालगन्ज — बाँकेमा पर्यटकमैत्री व्यवहारका लागि चालक, सहचालकलगायत सरोकारवालालाई तालिम दिइएको छ । लुम्बिनी पर्यटन विकास परिषद्ले आइतबार यहाँका सवारी चालक तथा सहचालकलाई प्रशिक्षण तालिम दिएको हो ।

लुम्बिनी पर्यटन विकास परिषद्ले दिएको पहिलो चरणको अभिमुखीकरणमा बस, मिनीबस, अटोरिक्सालगायत सवारीसाधनका चालक र सहचालक गरी नेपालगन्जका ५० बढीको सहभागिता थियो । 

कार्यक्रममा यातायात व्यवसायी संघका पदाधिकारी, यातायात व्यवसायसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधि, भन्सार कर्मचारी, यातायात कार्यालयका प्रतिनिधिलगायतलाई पर्यटकको महत्त्व र गरिनुपर्ने न्यूनतम व्यवहार अनुशिक्षण दिइएको परिषद्का कार्यकारी प्रमुख रामु जोशीले जानकारी दिए ।

मुख्यगरी भारतीय पर्यटकलाई नाकामा चालक तथा सहचालकले गर्ने व्यवहार सधैं आलोचित हुँदै आएको छ । ‘अभिमुखीकरण तालिमको सरोकार गन्तव्यको पहिचान र प्रसार पनि हो,’ उनले भने, ‘बढीभन्दा बढी पर्यटक भित्र्याउन सके सबै क्षेत्रलाई फाइदा पुग्छ ।’

यातायात व्यवसायी मनप्रसाद आचार्यले चालक तथा सहचालकदेखि यातायात व्यवसायीले देशलाई धेरै लगानी गरे पनि त्यसको प्रतिफल पाउन नसकेको गुनासो गरे । उनले 'हाम्रो यातायातलाई राम्रो यातायात बनाउन' सबैको सहकार्य जरुरी रहेको पनि बताए । 

‘कुनै दुर्घटनामा मान्छेको मृत्य भयो भने प्रहरीले पैसा नदिँदासम्म साधन छोड्दैन । तीन वर्षसम्म मेकानिकल जाँच नभएका गाडीहरू सडकमा गुडिरहेका छन् । त्यतातिर यातायात कार्यालयको ध्यान छैन,’ उनले भने, ‘हामीले देशमा धेरै लगानी गरेका छौं । सरकारले यातायात व्यवसायीसँग राजस्वमात्र उठाउने होइन, कमसेकम त्यो राजस्व सडकमा लगानी होस्, पार्किङ बनाउनेमा खर्च होस् ।’ 

कार्यक्रममा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)का अध्यक्ष श्रीराम सिग्देलले पर्यटकको पहिलो भेट चालक र सहचालकसँग हुने भएकाले पर्यटनमैत्री व्यवहार गर्न आग्रह गरे । तपाईंको पोसाक र बोली व्यवहारले पर्यटकलाई सहज बनाइ घुम्ने वातावरण बनाइदिनु पर्छ,’ उनले भने, ‘स्वदेशी तथा विदेशी जुन पर्यटक भए पनि जिल्लाका सबै पर्यटन स्थलका बारेमा चालक र सहचालकले जानकारी राख्न जरुरी छ ।’

अभिमुखीकरण तालिममा वरिष्ठ प्रहरी नायब निरीक्षक प्रवीण आचार्यले चालक । सहचालकले ट्राफिक नियम र अनुशासनमा नबस्दा सवारी दुर्घटना बढिरहेको तथ्यांक प्रस्तुत गरे । उनले ट्राफिक नियम सही तरिकाले पालना गर्न चालक र सहचालकलाई आग्रह पनि गरे ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully