तिलोत्तमा युवा सम्मेलन : युवा लक्षित कार्यक्रममा सहभागिता बढाउन माग

फाल्गुन ११, २०८१

सन्जु पौडेल

Tilottama Youth Conference: Demand to increase participation in youth targeted programs

लुम्बिनी — स्थानीय सरकारले प्राथमिकता दिएर युवा लक्षित कार्यक्रममा लगानी गरेपनि प्रशस्त मात्रामा युवा सहभागिता नहुँदा प्रतिफल प्राप्त हुन नसकेको सरोकारवालाले बताएका छन् । लगानी सदूपयोगका लागि यस्ता कार्यक्रममा युवाको सहभागिता बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शनिबार गरेको दोस्रो युवा सम्मेलनमा सहभागी कर्मचारीले युवा लक्षित कार्यक्रम संचालन गरेपनि प्रतिफल नमिलेको बताएका थिए भने सहभागी युवाले स्थानीय सरकारले आफूहरूलाई समेट्न चासो दिएको गुनासो व्यक्त गरेका थिए । 

नगरपालिकाका युवा शाखाका अधिकृत माधव प्रसाद पोखरेलले युवालाई नेतृत्व तहमा ल्याउने गरी कार्यक्रम तय गरिनुपर्नेमा जोड दिए । तर, पालिकाका जनप्रतिनिधिमा यस्तो जागरुकताको कमीले युवा लक्षित कार्यक्रममा सहभागिता बढाउन नसकिएको उनको भनाइ छ । 

‘युवाका लागि प्रशस्त कार्यक्रम सञ्चालन गर्न नसकेको हामीपनि स्वीकार्छौं,’ उनले भने, ‘नवीनतम विचार र शैलीका कार्यक्रम लागू गरेपनि युवाको सहभागिता शुन्य बराबर हुनु चिन्ताको विषय हो ।’ पालिकामा अध्ययन र अनुसन्धानका लागि आउने युवालाई आफ्ना गतिविधि मात्र जानकारी गराउने भन्दापनि उनीहरूलाई आर्थिक सहयोग समेत उपलब्ध गराएर हौसला प्रदान गर्ने गरिएको उनले बताए ।

तिलोत्तमालाई युवामैत्री पालिका बनाएर हरेक क्षेत्रमा उनीहरूलाई नेतृत्व तहसम्म पुर्‍याउन आफूहरू सकारात्मक रहेको उनको भनाइ थियो । राष्ट्रिय युवा परिषद्का पूर्व उपाध्यक्ष माधव ढुंगेलले म मात्र नभनेर सबैलाई समेट्ने गरी हामी भन्ने प्रचलन लागू गर्नुपर्ने बताए ।

युवालाई नेतृत्वमा पुर्‍याउन सामुहिक कार्य गर्नुपर्नेमा उनले जोड दिए । मानव शरीर पाउनुनै महत्वपूर्ण भएकाले सबैले जीवनको महत्व बुझ्न जरुरी रहेको उनले बताए । ‘स्थानीय सरकारले निर्माण गरेको कानुन सबैका लागि हुने भएकाले हितकारी बनाएर बालकदेखि वृद्धसम्मलाई समेट्नुपर्ने हुन्छ,’ उनले भने, ‘समग्र युवालाई स्थानीय संरचना, सम्भावना, समितीगत कार्य, सम्भाव्यता बुझाउनुपर्छ ।’

युवा उद्यमी अंकित भुषालले युवाहरूले आफ्नो मार्ग निर्धारण गर्न नसक्दा भविष्य सोंचेजस्तो बन्न नसकिरहेको बताए । अवसरको खोजीमा रहेका युवा पहिचान गरेर पालिकाले उनीहरूलाई आवश्यक सहयोग गर्नुपर्ने उनले बताए ।

‘सरकारले केही गरिदिएन भनेर पन्छिन्छौं र विदेशको यात्रा तय गर्छौं, त्यो गलत हो,’ उनले भने, ‘अध्ययन गर्न विदेश जानुस्, सिक्न जानुस् तर उपभोग गर्न नेपाल जति उपयुक्त ठाउँ अन्यत्र छैन ।’ अहिलेका युवामा अध्ययनको कमी भएको भन्दै उनले नयाँ काम सुरु गर्नका लागि प्रविधि, संसारका ठूला मानिसको कथा, नेपालकै उदाहरणीय व्यक्तिको संघर्षलाई नियाले पुग्ने बताए ।

सरकारको मुख ताकेर बस्ने बेला नरहेको र युवाले अग्रसरता लिनका लागि स्वयं आफ्नो सक्रियतालाई बढाउनुपर्ने उनले बताए । नगरपालिकाअन्तर्गत सामाजिक विषय समितिका संयोजक रवि सेन्चुरीले पालिकाभित्रका ६६ हजार भन्दाबढी युवाको प्रतिनिधीत्व हुनेगरी युवालाई आशा, भरोसा दिलाउन पालिका लागिपरेको दाबी गरे ।

तीन वर्षदेखि निरन्तर युवाका विषयमा विभिन्न छलफल सञ्चालन गरेर युवाको सहभागिता बढाउन लागिपरेको उनले बताए ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully