वन्यजन्तुको अवस्था बुझ्न कम्दी करिडोरमा ९५ क्यामरा जडान

फाल्गुन ११, २०८१

रासस

Installation of 95 cameras in Kamdi corridor to understand the condition of wildlife

जानकी (बाँके) — जिल्लाको राप्तिसोनारी गाउँपालिका–३ बैसास्थित हरियाली सामुदायिक वनको कम्दी करिडोरमा ९५ वटा क्यामरा जडान गरिएको छ । करिडोरमा वन्यजन्तुको आहोरदोहोरको अवस्था, बासस्थान, संरक्षण, विविध गतिविधि अवलोकन गर्ने उद्देश्यले क्यामरा जडान गरिएको हो ।

बाघ तथा आहार प्रजातिको अनुगमन तथा संरक्षणका लागि वन परिसरका विभिन्न स्थानमा क्यामरा जडान गरिएको जिल्लास्थित डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ताले बताए । क्यामरा जडानबाट मानव र वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । 

'हामीले यो स्तरको अनुगमनको काम कम्दी करिडोरमा गरेका थिएनौं । यसले बाघको संख्या, घनत्व र आहारका विषयमा जानकारी दिनेछ,' उनले भने, 'बाघ र आहारका प्रजाति के कति छन् भन्ने थाहा पाउन सकिन्छ ।' यसरी क्यामरा ‘ट्यापिङ’ बाट काम गर्दा मानव र वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ छ । उनका अनुसार कम्दी करिडोर भारत र नेपाललाई जोड्ने वन क्षेत्रका रूपमा मानिन्छ । 

जुलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल) का कार्यक्रम अधिकृत सञ्जय कँडेलले कम्दी करिडोरमा जडान गरिएको क्यामेरा ट्यापिङले यस क्षेत्रमा बाघले विचरण गरेको छ वा छैन भन्ने कुरा पत्ता लाग्ने बताए । 'जैविक मार्ग भनेको आफैमा वन्यजन्तु राख्नेभन्दा पनि वरपरका वन्यजन्तुलाई आवतजावत गराउन सक्षम छन् कि छैनन् भन्ने विषय महत्त्वपूर्ण हो । बाघ तथा अन्य वन्यजन्तु कुन दिशाबाट विचरण गरेका छन् भन्ने अध्ययन गर्न सजिलो हुन्छ,' उनले भने, 'आहार प्रजातिको अध्ययनले भोलिका दिनमा त्यो क्षेत्रमा कत्तिको बाघहरू ओहोरदोहोर गर्न सक्छन् भन्ने जानकारी प्राप्त हुन्छ ।'

उनका अहिले बाघ तथा आहार प्रजातिको अनुगमनमा कम्दी करिडोर र आसपासको करिब ३५ हजार हेक्टर वन क्षेत्रमा ९५ वटा क्यामरा जडान गरिएका छन् । १५ दिनसम्म क्यामराबाट अनुगमन गरिने र प्राप्त विवरण सार्वजनिक गरिने उनको भनाइ छ ।

रासस

Link copied successfully