बर्दियामा एकैदिन १५ फरार प्रतिवादी पक्राउ

फाल्गुन १०, २०८१

कमल पन्थी

15 fugitive accused arrested in Bardia on the same day

बर्दिया — जिल्ला अदालत बर्दियाबाट विभिन्न समयमा सजाय र जरिवाना फैसला भएका १५ जना फरार प्रतिवादी पक्राउ परेका छन् । फरार सूचीमा रहेका घरेलु हिंसाका १२, अंश मुद्दा, लागूऔषध र बहुविवाहका १/१ जना गरी १५ जना प्रतिवादी पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा गेरुवा गाउँपालिका–३ का सुमन थारुलाई लागूऔषध ब्राउन सुगर मुद्दामा ६ महिना कैद र २ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा हुने गरी जिल्ला अदालत बर्दियाले ०८१ मंसिर १२ गते फैसला गरेको थियो । यसैगरी, बहुविवाह मुद्दामा अदालतले  बारबर्दिया नगरपालिका–११ का लक्षमण थारुलाई ०८० जेठ १७ गतेको फैसलाले ११ महिना १८ दिन कैद र १० हजार पीडित राहत कोषमा जम्मा हुने गरी फैसला गरेको थियो । जिल्ला अदालतबाट अंश मुद्दामा ०८० साल भदौ ११ गतेको फैसलाले जरिवाना भएका बढैयाताल गाउँपालिका–२ का प्रजाति थारुलाई अंश मुद्दामा ३ हजार ७ सय ५० रुपैयाँ जरिवाना गरेको थियो ।   

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी ऋषिराम घर्तीमगरका अनुसार घरेलु हिंसा मुद्दामा अदालतले ०८१ भदौ १८ गतेको फैसला अनुसार गुलरिया नगरपालिका–६ का अफताव कुरेशी लगायत १२ जनालाई पक्राउ गरेको जनाए । घरेलु हिंसाका १२ जनालाई जनही ५ हजार जरिवानाको फैसला अदालतले गरेको छ । घरेलु हिंसाका १२, लागूऔषध ब्राउन सुगर, बहुविवाह र अंश मुद्दाका १५ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा दाखिला गरेको उनले बताए ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully