पाल्पा — सामुदायिक विद्यालयको गुणस्तर सुधार्न ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान पाल्पामा शुक्रबारदेखि सुरु भएको छ । अभियान अन्तर्गत लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारू तानसेनस्थित जनता माविमा र प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी रिब्दीकोटस्थित आदर्श मावि देउरालीमा पुगेका हुन् ।
मन्त्री सारूले आफूले अध्ययन गरेको विद्यालयलाई सक्दो सहयोग गर्ने र योगदान दिने कर्तव्य भएको बताए । जनता मावि मात्र नभई अन्य विद्यालयलाई पनि क्षमता, पहुँच पुगेसम्म सहयोग गर्ने प्रतिबद्धता मन्त्री सारूले जनाए । प्रदेश प्रमुख सचिव अधिकारीले आदर्श माविमा पुगेर विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका लागि आफूले सक्दो प्रयास विगतमा पनि गर्दै आएको र आगामी दिनमा पनि गर्ने बताए ।
सामुदायिक विद्यालयप्रति चासो र आफ्नो दायित्वबोध गराउने अभियानको मुख्य उद्देश्य रहेको प्रमुख सचिव अधिकारीले जानकारी दिएका छन् । पूर्व विद्यार्थीले चाहेको अवस्थामा विद्यालयमा धेरै सुविधा र सुधारका काम हुन सक्छन् भन्ने विश्वासका साथ यो अभियान सुरु भएकाले त्यसका लागि सघाउन आफू सधैँ तयार रहेको उनले बताए । आदर्श माविमा भौतिक सुविधा पर्याप्त भए पनि विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या भने घट्दै गएको छ ।
पूर्वविद्यार्थीबाट विद्यालयको शैक्षिक सुधारमा धेरै सहयोग हुने भएकाले सबैको सहयोग भयो भने विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधार्न सकिने तानसेनस्थित जनता मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजी पोखरेलले बताए । तानसेनको जनता माविका प्रधानाध्यापक हरिप्रसाद घिमिरेले समग्र विद्यालयको विषयमा जानकारी गराए । आईटीयुक्त कक्षाकोठाको कमी, कम्प्युटर प्रयोगशालामा कम्प्युटरको कमी, छात्रावास व्यवस्थापनमा आर्थिक स्रोतको कमी, स्कुल बस, सिकाइमैत्री कक्षाकोठा अभाव, शौचालयको कमी लगायतका समस्या रहेको प्रधानाध्यापक घिमिरेले जानकारी गराए ।
पूर्वविद्यार्थीको हैसियतमा अभियानमा जोडेर सामुदायिक विद्यालयको गुणस्तर सुधारको प्रयास सफल हुने पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताए । ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा शिक्षक र अभिभावकले पनि सुधारका लागि आवश्यक पहल गर्दै र थप सहयोग गर्नका लागि सबै विशिष्ट पदमा पुगेकाहरू विद्यालयमा पुगेर मेरो विद्यालय मेरो दायित्व अभियान सुरु गर्दा थप सहयोग पुग्ने जनता माविका शिक्षक रामप्रसाद ढकालले बताए ।
लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयको अगुवाइमा शुक्रबार प्रदेशका १२ जिल्लाका १७ विद्यालयमा पहिलो चरणको अभियान एकैसाथ सुरु गरेको छ । अभियान अन्तर्गत मुख्यमन्त्री, मन्त्री, दुई पूर्व मुख्यमन्त्री, प्रदेश प्रमुख सचिव र प्रदेशसभाका जनप्रतिनिधि आफूले अध्ययन थालेको विद्यालयमा पुगेका हुन् ।
