अबको १० वर्षमा विकासको गतिलाई चार गुणाले बढाउनुपर्छ : महामन्त्री थापा
पाल्पा — पूर्वखोला गाउँपालिकाबाट प्रथम लोकतान्त्रिक महोत्सव २०८१ सुरु भएको छ । महोत्सवको उद्घाटन गर्दै नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अबको १० वर्षभित्र विकासको गतिलाई कम्तीमा पनि चार गुणाले बढाउनुपर्ने बताए ।
उनले पञ्चायतले ३० वर्षको पुस्तालाई अनावश्यक खेर फाल्नु परेको बताउँदै त्यसपछिको थप ५० को दशकपछि हिंसा र त्यसको व्यवस्थापनका कारण समय खेर गएको समेत बताए ।
पूर्वखोला गाउँ कार्यसमितिले प्रजातन्त्र दिवसका अवसरमा राखेको महोत्सवमा महामन्त्री थापाले भने, ‘यो १० वर्षलाई नेपालले अभुतपूर्व प्रयोग गरेर हाम्रो विकासको गतिलाई कम्तीमा चार गुणाले बढाउनुपर्छ ।’ सडक बन्नलाई अहिले समय लागेको जति छ, त्यसलाई चारगुणाले घटाउनुपर्ने बताउँदै महिनाको आम्दानीलाई १० वर्षभित्र चारगुणाले बढाउनुपर्नेमा महामन्त्री थापाले जोड दिए । जीवनस्तरलाई अहिलेको भन्दा चार गुणाले बढाउनका लागि कांग्रेसले सबै नागरिकलाई बुझाउनुपर्ने बेला आएको उनले बताए ।
५० को दशक हिंसा, ६० को दशक युद्धले थोपरेको फोहोरको थुप्रो सफा गर्नमै बितेको उनले आरोप लगाए । ‘अर्को ७० को दशक भनेको संविधान निर्माणका साथै कार्यान्वयनका क्रममा बितेको छ,’ उनले भने, ‘अबको ८० को दशक भनेको हातमा संविधान, राजनीतिक, सामाजिक, सांस्कृतिक अधिकार रहेको छ । अब अमनचयन र शान्ति भएका बेला फरक रुवाबासी गर्ने होइन । अब मुलुकको विकास र हामी आफैलाई समुन्नत गराउनुपर्ने हुन्छ ।’
अहिले एक थरिले मुलुक बिग्रियो, सकियो, भत्कियो भन्दै अब फेरि नयाँ कुरा चाहियो भन्नेहरुको भीड जम्मा भएकाले यसतर्फ सचेत रहन उनले सबैमा आग्रह गरे । दुई वटा प्रवृत्तिले मुलुकलाई पछि पार्न खोजेको बताउँदै उनले भने, ‘सकियो, बिग्रियो भन्ने र सबै कुरा ठिक छ भन्नेहरुको बीचमा उभिएर अघि बढ्ने बेला आएको छ ।’
हाम्रो जीवनस्तरलाई बढाउन समयको महत्व बुझेर काम गर्नुपर्ने बेला आएको बताउँदै उनले २०८४ को चर्चा गर्ने बेला नभईसकेको बताए । कांग्रेसले अहिलेको काम के हो भन्ने बुझेर काम गर्नुपर्ने बेला आएको बताउँदै नेता थापाले मिसन गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीलाई ध्यान दिनुपर्नेमा जोड दिए ।
‘अब संविधान बनाउन, प्रजातान्त्रिक आन्दोलन गर्न वा अन्य कुनै ठूलो उपलब्धि भित्र्याउन पनि छैन,’ उनले भने, ‘त्यसैले बीपीले १८ महिना, २०४८ सालको सरकार तीन वर्ष, ५१ सालको सरकार ९ महिना चलेको थियो । तर महत्वपूर्ण उपलब्धि हासिल गरेको थियो । त्यस बेलाका सरकारलाई गौरव गर्ने गरेका छन् ।’ अहिले २०८४ को निर्वाचन आउन ३६ महिना बाँकी रहेको बताउँदै महामन्त्री थापाले अबको तीन वर्षको मिसन काँग्रेसले समृद्धिका लागि काम गर्नुपर्नेमा जोड दिए । पाएको समयलाई सही रुपमा सदुपयोग गर्नुपर्ने बताउँदै उनले कांग्रेसले आफ्नो महत्व बुझेर काम गर्ने बेला आएको बताए ।
अहिले पनि कांग्रेसका तीन प्रदेशका मुख्यमन्त्री छन् । ३ सय ३० पालिका प्रमुख, २६ सय बढी वडाध्यक्ष र हज्जारौ कार्यकर्ता भएकाले ३६ महिनामा धेरै काम गर्न सकिने महामन्त्री थापले बताए । तीन वर्षको समय सरकार चलाउन पाउँदा धेरै काम गर्न सकिने उनले बताए ।
लोकतान्त्रिक महोत्सवमा पूर्वखोला गाउँपालिका भित्रका डोको, नाम्लो, कुटो, कोदाले, हँसिया, ठेकीका साथै पुस्तक प्रदर्शनी तथा बिक्री राखिएको थियो । स्थानीय समुदायको कला संस्कृति प्रदर्शन गरिनुका साथै निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो ।
