बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जले ६ दिनअघि नियन्त्रणमा लिएको समस्याग्रस्त बाघलाई निकुञ्ज कोरिडोरमा छाडिएको छ ।
निकुञ्जसँग जोडिएको ठाकुरबाबा नगरपालिकाको आम्बासा नजिक उक्त बाघ डार्ट गरी नियन्त्रणमा लिइएको थियो ।
गाउँबस्तीमा पसेर चौपाया मारेर खाने, मानिसलाई आक्रमण गरी मार्ने, घाइते बनाउने बाघलाई समस्याग्रस्त भनिन्छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख अजित तुम्फाहाम्फेका अनुसार नियन्त्रणमा लिएको बाघ करिब ३ वर्षको पोथी हो ।
उक्त बाघ केही दिन निकुञ्जको खोरमा राखिएको थियो । बाघले यस क्षेत्रमा चौपाया मार्ने गरेकोले यसलाई निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाली सेनाका प्राविधिक टोली परिचालन गरि डार्ट (बेहोस) गरिएको थियो ।
बर्दिया निकुञ्जको ठाकुरद्वारा रम्मापुरमा रहेको बाघको थुनुवा कक्ष यसअघि नै भरिइसकेको छ । थुनुवा कक्षमा तीन वटा बाघ रहेका छन् ।
पछिल्लो गणनाअनुसार बर्दिया निकुञ्जमा १ सय २५ वटा बाघ रहेका छन् ।
