लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन मंगलबार रातिदेखि अन्त्य गर्न सिफारिस

फाल्गुन ६, २०८१

घनश्याम गौतम

It is recommended to end the winter session of the Lumbini State Assembly from Tuesday night

बुटवल — लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको पाँचौं (हिउँदे) अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सरकारको मंगलबार बसेको बैठकले मंगलबार रातिदेखि अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । 

सरकारको निर्णयसँगै प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले फागुन ६ गते मंगलबार राति १२ बजेपछि प्रदेशसभाको पाँचौं अधिवेशन अन्त्य भएको सूचना प्रदेशसभामा पठाएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी सुरेश भुसालले बताए । पाँचौं अधिवेशन पुस १६ देखि सुरु भएको थियो । धिवेशनले दुई विधेयक पारित गरेको छ । 

प्रदेशसभाका सचिव दुर्लभकुमार पुनका अनुसार ११ वटा बैठकले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक पारित गरेको छ । अधिवेशनको सोमबारको ११ औं बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गरेका थिए ।

त्यस्तै पाँचौं अधिवेशनले यसअघि प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रमाणीकरण नगरी सन्देशसहित फिर्ता पठाएका दुई विधेयक पनि हुबहु पारित गरेको छ । 

अधिवेशनको दोस्रो बैठकले प्रदेश प्रमुख घर्तीले फिर्ता पठाएका प्रदेश निजामती सेवा ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, संचालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पुनः पारित गरेको थियो । 

लुम्बिनी प्रदेशमा अहिलेसम्म ८४ वटा कानुन निर्माण भएका छन् । प्रदेशसभाको पहिलो कार्यकालले ७२ वटा र दोस्रो कार्यकालको अधिवेशनसम्ममा १२ वटा कानुन पारित भएको प्रदेशसभा सचिव पुनले बताए ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully