नेपालगन्ज — बाँकेको खजुरा गाउँपालिका–६ सिमलघारीकी डेढ वर्षीय लक्ष्मी पुनको चितुवाको आक्रमणमा परेर गत भदौ ३० गते मृत्यु भएको सात महिनापछि उनको परिवारलाई लुम्बिनी प्रदेश सरकारले १० लाख रुपैयाँ राहत उपलब्ध गराएको छ ।
खजुरा गाउँपालिकाको पहलमा सो राहत रकम प्रदान गरिएको हो । गाउँपालिकाका पदाधिकारीहरूले मृतक परिवारलाई राहत हस्तान्तरण गर्दै पीडित परिवारलाई थप आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
खजुरामा मात्र नभइ बाँके जिल्लामा वन्यजन्तुबाट मानविय तथा पशुधनको क्षति भएका ३७ घरपरिवारहरूलाई क्षतिपूर्ति वितरण गरिएको छ । राप्तीसोनारी गाउँपालिकामा ३३ परिवार, खजुरा गाउँपालिकाका १, बैजनाथका १ र कोहलपुर नगरपालिकाका २ गरी ३७ परिवारलाई क्षतिपूर्ति वितरण गरिएको हो ।
डिभिजन वन कार्यालय बाँकेका सिनियर वन डिभिजनल अधिकृत शंकरप्रसाद गुप्ताका अनुसार दुई वर्षको अवधिमा वन्यजन्तुबाट मानविय तथा पशुधनको क्षति भएका परिवारलाई आइतबार राहत वितरण गरीएको हो ।
डिभिजन वन कार्यालय बाँकेले ३६ पशुधन पीडितलाई ९ लाख १२ हजार ५ सय रुपैयाँ र १ मानविय पीडितलाई १० लाख गरी ३७ घरपरिवारलाई १९ लाख १२ हजार पाँच सय बराबरको क्षतिपूर्ति वितरण गरीएको हो ।
राहत वितरणमा लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरण प्रसाद कलवार, वन सचिव मोहनराज काफ्ले र राप्तीसोनारी तथा खजुरा गाउँपालिका अध्यक्ष लगायतको उपस्थिति थियो ।
यसअघि निकुञ्जमार्फत संघीय सरकारले राहत उपलब्ध गराउँदै आएकोमा वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० बनेपछि प्रदेश सरकारले डिभिजन वन कार्यालय मार्फत राहत उपलब्ध गर्न थालेको हो ।
क्षतिपूर्ति रकमलाई भने दोब्बरसम्म वृद्धि गरेको छ । निर्देशिका अनुसार भैंसी वा राँगो वा गोरु, उन्नत जातको गाई, घरपालुवा चौंरी, घोडा र खच्चडको मृत्यु भएमा मूल्यांकनको आधारमा अधिकतम प्रतिपशु ६० हजार रुपैयाँसम्म दिइने व्यवस्था छ ।
यसअघि यो रकम अधिकतम ३० हजार रुपैयँसम्म थियो । अन्य पशुको हकमा त्यसको प्रकार र मूल्यांकनका आधारमा प्रतिपशु १० हजार रुपैयाँसम्म दिने प्रावधान छ । माछा र कुखुरा पालकलेसमेत वर्षको एक पटकका लागि क्षतिको राहतका लागि दाबी गर्न सक्ने व्यवस्था छ । यस्ता कृषकलाई क्षतिको मूल्यांकनका आधारमा बढीमा १० हजार रुपैयाँसम्म उपलब्ध गराइने निर्देशिकामा उल्लेख छ ।
