कार्यसम्पादन मूल्यांकनमा पाल्पामा १० मध्ये तिनाउ पहिलो

फाल्गुन ४, २०८१

माधव अर्याल

Tinau 1st out of 10 in Palpa in Performance Appraisal

पाल्पा — राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा पाल्पाको तिनाउ गाउँपालिका जिल्लाकै पहिलो भएको छ । १० स्थानीय तहमध्ये आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को नतिजामा तिनाउ गाउँपालिका पहिलो भएको हो ।

कार्य सम्पादनको आधारमा प्रकाशित नतिजामा तिनाउले सबैभन्दा धेरै ७४.२ अंक प्राप्त गरेको छ । बगनासकाली गाउँपालिकाले ७३.७ अंक, तानसेन नगरपालिकाले ७१.७ अंक ल्याएर दोस्रो र तेस्रो भएको आयोगले जनाएको छ ।

कार्यसम्पादन मूल्याङ्कनमा रिब्दीकोट गाउँपालिकाले ६५.७, रामपुर नगरपालिका ६६.१, पूर्वखोला गाउँपालिकाले ६१.९, रम्भा गाउँपालिकाले ५९.९, रैनादेवी छहरा गाउँपालिकाले ५८.४, माथागढी गाउँपालिकाले ५७.६ र निस्दी गाउँपालिकाले ५७ अंक प्राप्त गरेको छ । 

स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ अनुसार आयोगले मूल्यांकन गर्दै आएको छ । आर्थिक वर्षको राजस्व र आय–व्ययको अनुमान समयमा गाउँसभामा पेस गरे नगरेको, समयमा बजेट पेस गरेको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा पठाए/नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्च लगायत १७ सूचकमा मूल्याङ्कन हुने गर्छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully