स्वर्गद्वारी गुठीका मोही किसानले दिए घोराही मालपोतमा धर्ना

फाल्गुन ४, २०८१

दुर्गालाल केसी

Mohi farmers of Swargadwari Guthi staged a sit-in at Ghorahi Malpot

दाङ — स्वर्गद्वारी गुठीको जग्गामा अधिकार माग गर्दै मोही किसानले आइतबार मालपोत कार्यालय घोराहीमा धर्ना दिएका छन्। धर्नाका कारण कार्यालयको काममा अवरोध भएको छ भने प्रहरीले उनीहरुलाई हटाउने प्रयास गरिरहेको छ। 

जमिनमाथिको अवैध स्वामित्व अन्त्य हुनुपर्ने, यसअघि भएका सम्झौता कार्यान्वयन हुनुपर्ने, धर्मका नाममा शोषण गर्न नहुने जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर किसानले नाराबाजी गरेका छन्। यसअघि लामो समय आन्दोलन गर्दा पनि सुनुवाइ नभएपछि थप आन्दोलनमा उत्रिएको मोही किसान संघर्ष समितिका प्रवक्ता प्रवीण चौधरीले बताए। 

उनीहरूले गएको फागुन ८ देखि चैत ७ सम्म घोराहीमा विभिन्न आन्दोलनका कार्यक्रम गरेका थिए। त्यसपछि सरकारले वार्ता गरेर माग पूरा गर्ने आश्वासन दिएको थियो।

दाङका ३९ जना मोही किसान माघ २० देखि काठमाडौंको माइतीघरमा अनिश्चितकालीन धर्नामा छन्। धर्ना बस्दा पनि सुनुवाइ नभएपछि उनीहरू घोराहीका किसान पनि आन्दोलित भएका हुन्। 

२०६२ चैत १४ मा सर्वोच्च अदालतले स्वर्गद्वारी गुठी विशेष प्रकृतिको निजी गुठी भएको ठहर गरेको थियो। आश्रमको स्वायत्ततामा आँच पुग्ने गरी आश्रमको नाममा दर्ता भएको जग्गा कुनै पनि किसिमले खण्डित र हिनामीना हुन नदिनू भनी परमादेश जारी भएपछि मोही किसान जग्गाको अधिकार पाउनबाट वञ्चित भएका हुन्। स्वर्गद्वारी आश्रमको १०३४ बिघा १७ कट्ठा ७ धुर जग्गामध्ये ७५३ बिघा जग्गामा मोही कायम छ। उक्त जग्गामा ३ हजार ५ घरधुरी मोही छन्, जसमा १५ हजार बढी सदस्य आश्रित छन्।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully