खुला आकाशमुनि ढुंगे जाँतो संग्रहालय

फाल्गुन ५, २०८१

गगनशिला खड्का

An open-air stone museum

गुल्मी — परम्परागत घरेलु साधनको संरक्षण गर्न गुल्मीको सत्यवती–३ मा ढुंगे जाँतो संग्रहालय स्थापना गरिएको छ । काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक भुवन थापाको परिकल्पना र योजनामा सत्यवती–३ का स्थानीयले ठूलोलुम्पेक गाग्रीढुंगामा जाँतो संग्रहालय स्थापना गरेका हुन् ।

मेसिनरी औजारको प्रयोगले विस्थापित ढुंगे जाँतोको संकलन र प्रतिस्थापनले संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने थापाले बताए । ‘विस्थापित हुने ढुंगे जाँतोको संकलन र प्रतिस्थापनको माध्यमबाट सांस्कृतिक धरोहरको संरक्षण र पर्यटकीय आकर्षण प्रवर्द्धन गर्ने उद्देश्य हो,’ उनले भने, ‘प्रविधिले हाम्रा परम्परागत औजारहरु र महत्त्वपूर्ण भौतिक सामग्री संरक्षण नगर्ने हो भने हाम्रो परम्परा र संस्कृति नै हराउने खतरा छ ।’

प्रकृति, कला र समुदायको चुल्ठीबाटी सम्बन्ध स्थापित गर्नका लागि संग्रहालयबाट आफूहरुले गाउँमा अभियानको सुरुवात गरेको थापाको भनाइ छ । ‘प्रकृतिको सत्यता, कलाको सौन्दर्य र समुदायको सत्वता, यी तीन चिजको संयोजनका लागि हामीले यसको परिकल्पना गरेका हौं,’ उनले भने, ‘यहाँ जाँतो संग्रहालयबाट सुरुवात गरेका छौं, पछि यहाँ पुस्तकालय, स्मारक, पार्क, मूर्ति, पदमार्गलगायत बन्नेछन् ।’

संग्रहालयमा अहिले गुल्मीको सत्यवती र स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका विभिन्न वडाबाट विस्थापित भइसकेका जाँतोहरू ल्याएर राखिएको छ । संग्रहालय स्थल गाग्रीढुंगा भन्ने ठाउँ ढुंगाका गाग्रीमा पानी संकलन हुने स्थानीय जनताले खानेपानीको रुपमा प्रयोग गर्ने ठाउँ हो । २०३५ सालअघि त्यहाँ रहेका गाग्रीजस्तो खोक्रो ढुंगाहरुमा संकलन भएको पानी स्थानीय जनताले खानेपानीको रुपमा प्रयोग गर्ने गरेको स्थानीयहरु बताउँछन् । अहिले भने गाउँमा पानीको धारा ल्याएकोले खानेपानीको आपूर्ति भएको छ ।

त्यस क्षेत्रमा खुला आकाशमुनि स्थापना भएको ढुंगेजाँतो संग्रहालयले जाँतोका साथै गाग्रीढुंगाले जनताको पानीको तिर्खा मेटेको इतिहास सुरक्षित पनि हुने अभियान्ता थापाको भनाइ छ । ‘हामीले संग्रहालय क्षेत्रभित्र विशाल गाग्रीको प्रतिमा पनि बनाउने र कालीगण्डकी नदीबाट ढुंगा ल्याएर भर्ने योजना बनाएका छौं’, उनले भने, ‘त्यो कालीगण्डकीको ढुंगा ल्याएर हामी बसाइँ गरेर जाने होइन कि गएकाहरु फर्केर यही आउनुपर्छ भन्ने सन्देश दिने छ ।’

An open-air stone museum

संग्रहालय अवलोकनका लागि आएका स्याङ्जाको कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले आफूहरुले एकअर्कालाई सांस्कृतिक गाउँ बनाउने कार्यक्रम रहेकाले त्यहाँ आएका पर्यटकलाई जाँतो संग्रहालयमा ल्याउने र यताकालाई पारी लैजाने गरी सहकार्य गर्ने बताए । 

‘अहिले तत्कालको लागि होइन, पुस्तौं पुस्ताको लागि सोचेर यो संग्रहालय बनाउनुभयो भन्ने लागेको छ’, उनले भने, ‘भोलि कालिगण्डकी वारि र पारि, गण्डकी र लुम्बिनी, स्याङ्जा र गुल्मी, कालीगण्डकी गाउँपालिका र सत्यवती गाउँपालिकाबीच सहकार्य गरेर पर्यटकीय क्षेत्र बनाउन सकिन्छ ।’

सत्यवती गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले अहिले गाउँबाट सहरमा बसाइँसराइको क्रम पनि बढेकाले यहाँको संस्कृति र परम्परा जोगाउन पर्यटन प्रवर्द्धन गर्नुपर्ने भएकाले स्थानीयको अभियानमा पालिकाले साथ दिने बताए । युगौं युगको लागि परिकल्पना गरेर यसरी खुला चउरमा ढुंगेजाँतो संग्रहालय देशकै नमुना हुनसक्ने गाउँपालिका उपाध्यक्ष निरमाया तरामुको भनाइ छ ।

‘देख्दा जाँतो बोकेर राख्ने यो सामान्य कुरा हो । तर यसले पछिसम्म हाम्रो आदिवासी परम्परा जिवित राख्छ’, उनले भनिन् । संग्राहलयमा अहिले एक सयको हाराहारीमा जाँतोहरु रहेको र पछि वरिपरीका गाउँबाट संकलन गरेर हजारौंको संख्यामा राखिने स्थानीयको भनाइ छ । 

गगनशिला खड्का कान्तिपुरकी गुल्मी संवाददाता हुन् ।

Link copied successfully