अब शैक्षिक क्रान्तिको खाँचो : महासचिव चन्द

फाल्गुन ३, २०८१

काशीराम डाँगी

Need for educational revolution now: Secretary General Chand

रोल्पा — नेकपाका महासचिव नेत्रविक्रम चन्दले अब शैक्षिक क्रान्ति गर्न चाहेको बताएका छन् । आफ्नो जन्मगाउँ रोल्पाको इरिबाङमा शनिबार रोल्पा नमुना क्याम्पसको उद‍्घाटन गर्दै उनले सशस्त्र क्रान्तिपछि अब शैक्षिक क्रान्ति गर्नुपर्ने जिम्मेवारी आएको बताए ।

'अब हामीले शैक्षिक क्रान्ति गर्नुपर्ने आवश्यकता ठान्यौं, सशस्त्र क्रान्तिपछि शैक्षिक क्रान्तिको खाँचो हुने रहेछ । त्यसैले अबको समय शैक्षिक क्रान्तिको हो,' इरिबाङको बागमारामा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त रोल्पा नमुना क्याम्पसको उद्‍घाटन गरेपछि मन्तव्य दिँदै चन्दले भने, 'शैक्षिक चेतनाले मानिसलाई सचेत बनाउँछ  । शिक्षाको जागरणले सामाजिक परिवर्तन गर्न सघाउ पुग्छ ।' उनले आफ्नो गाउँमा क्याम्पस स्थापना गर्न पाउँदा ज्यादै खुसी लागेको सुनाए ।

'म जन्मँदा हाम्रो गाउँमा सानो स्कुल मात्रै थियो । हामीले माध्यमिक तहको शिक्षा पनि गाउँमा पाउन सकेनौं  । माध्यमिक तहको पढाइका लागि सदरमुकाम लिवाङसम्म पुग्नुपर्‍यो । तर अहिले गाउँमा नै क्याम्पस संचालन हुने व्यवस्था हुँदा जोसुकैलाई खुसी लाग्नु स्वाभाविक छ,' उनको धारणा थियो ।

राणा शासनका बेला नेपालमा पहिलोपटक स्कुल खुल्दा शासक दु:खी भएको प्रसंग उल्लेख गर्दै उनले शासकहरु शैक्षिक संस्था स्थापना गर्दा खुसी हुन नसक्ने तर्क पनि गरे । 'रोल्पाको दुर्गममा क्याम्पस स्थापना भयो भन्ने थाहा पाउँदा कोही कोही खुसी नहुन पनि सक्छन् । जो परिवर्तनको विरोधी हो, जो तत्कालीन जनयुद्धको विपक्षी हो, त्यस्तालाई यो क्याम्पस मन नपर्न सक्छ,' उनले भने ।

लामो समय कपिलवस्तुमा बसोबास गर्दै आएका चन्द करिब २ वर्षपछि जन्म जिल्ला रोल्पा आएका हुन् । रोल्पा आउनुअघि उनी सल्यानमा आयोजना गरिएका पार्टीको कार्यक्रममा सहभागी भएका थिए । जन्मगाउँ इरिबाङ आउँदा उनलाई कार्यकर्ता र स्थानीयले बाजा बजाएर स्वागतसमेत गरेका थिए ।

करिब एक साता बसेर चन्दले रोल्पा जिनाबाङलगायतका स्थानमा आयोजना गरिने कार्यक्रममा सहभागी हुने र कार्यकर्ता प्रशिक्षणमा पनि सहभागी हुने नेकपाका रोल्पा सचिव पृथ्वी डाँगीले बताए । चन्द शुक्रबार साँझ रोल्पा आएका हुन् ।

काशीराम डाँगी डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully