बर्दिया — ठाकुरबाबा नगरपालिका–४ खैलारको मसुरो बारीमा शनिबार बिहान एक वयस्क भाले हात्ती मृत फेला परेको छ ।
करिब ३५ वर्षको उक्त हात्तीको प्राकृतिक कारणले मृत्यु भएको निकुञ्जले जनाएको छ । पोष्टमार्टम रिर्पोट आएपछि थप जानकारी आउने बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख अशोक रामले बताए ।
केही समययता उक्त हात्तीले आसपासका गाउँ बस्तीमा पसेर कच्ची घर र अन्नबाली क्षति गर्दै आएको थियो । घटनास्थलमा निकुञ्जका वन्यजन्तु चिकित्सक, अनुसन्धान अधिकृत खटिएका छन् । बर्दिया निकुञ्जको सिमानादेखि करिब ५ किमी दक्षिणमा हात्ती मृत भेटिएको हो ।
