‘फ्री भिसा’ को प्रलोभनमा पर्दा दलालको फन्दामा

थोरै पैसा खर्च गरेरै विदेश जान पाउने भएपछि खजुरा गाउँपालिका–३ का रामचन्द्र मुराउको अगुवाईमा सयौँ युवा तयार भए, प्रतिव्यक्ति २५ देखि ३० हजार रुपैयाँसम्म उठाएर दलाललाई बुझाए । तर पैसा बुझेका दलाल अहिले सम्पर्कविहीन भएका छन्

फाल्गुन २, २०८१

रुपा गहतराज

Falling into the trap of a broker when lured by a 'free visa'

नेपालगन्ज — बाँकेको खजुरा गाउँपालिका–३ का रामचन्द्र मुराउ गाउँमा राइस मिल चलाउँथे । चार छोराछोरीसहित ६ जनाको परिवार खुसीसाथ बसेको थियो । अतिरिक्त कमाउने लोभ अनि दाइ र सालालाई ‘फ्री भिसा’मा विदेश पठाउने प्रलोभनमा पर्दा दलालको फन्दामा परेका छन् । उनको हुँदा खाँदाको व्यापार लथालिङ्ग बनेको छ भने लाखौं रुपैयाँ ठगिएका छन् ।

फ्री भिसामा विदेश जाने चक्करमा पर्दा उनले चलाउँदै आएको प्रिया राइस मिल एक वर्षदेखि बन्द छ । शुल्क तिर्न नसकेर छोराछोरीलाई निजी विद्यालयबाट सामुदायिकमा सारेका छन् । विदेश पठाउने नाममा मान्छे जम्मा गरेका रामचन्द्रलाई दलालले ठगेपछि उनी उल्टै ऋणको चंगुलमा फसेका छन् ।

दलालहरूले सुरुमा भिसा मिलाएर विदेश पठाइदिने भन्दै युवा खोज्न लगाए । मुराउले गाउँका युवासँग पैसा उठाउँदै दलाललाई बुझाउँदै गए । बिस्तारै सबै पैसा दलालले खाएपछि मुराउ अहिले बिखलबन्दमा परेका छन् ।

रामचन्द्रका अनुसार २०८० भदौदेखि खजुराका सन्तोषकुमार विक र गौरीलाल विश्वकर्मा, जानकी गाउँपालिकाका निसान भन्ने टेकबहादुर विक र धर्मराज हरिजनले सुन्दरबिहानी युवा क्लब र खुल्ला चौपाया संरक्षण तथा व्यवस्थापन संस्थाबाट मिलाएर ‘फ्री भिसा’मा विदेश पठाइदिने भन्दै अन्य युवा खोज्न लगाएका थिए ।

विदेश जाने व्यक्ति खोजेवापत उनका दाई र सालालाई निशुल्क मलेसिया पठाइदिने आश्वासन दिए । दाई र सालालाई पैसा नतिरेर मलेसिया पठाउने लोभमा परेर रामचन्द्रले गाउँका युवा खोज्दै एक जनासँग २५ देखि ३० हजारका दरले रकम उठाएर ३७ जना जम्मा पारे ।

डेढ महिनामा भिसा आउने र दुई महिनामा उडाउने बताएका दलालले यो अवधिमा नउडाएपछि रामचन्द्रले शंका गरे । त्यसपछि दलालले विश्वास दिलाउन ३७ जनाको मेडिकल गराए । रामचन्द्रलाई विश्वास दिलाउन र नेताहरूसँग आफ्नो पहुँच भएको देखाउन काठमाडौं लगे । उनीहरूले रामचन्द्रलाई राखेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,  झलनाथ खनाल, प्रकाश ज्वाला र बेदुराम भुसालसँग फोटो खिचाए ।

ठूल्ठूला नेतासँग भेटाएपछि रामचन्द्रमा विश्वास पलायो । दलालले रामचन्द्रलाई अरु युवा खोज्न लगाए । त्यहीँ बेला दलालसँग सम्पर्कमा रहेका मतिनले पनि विदेश जाने युवा खोजे । मतिनले खोजेका ८२ जनाको पनि काठमाडौं लगेर मेडिकल गराइयो । विदेश जान इच्छुक युवा खोज्दै पैसा उठाएर दलाललाई दिँदै गए । दलालले अरु युवा खोज्न लगाउँदै गए ।

विदेश जान नपाएपछि पैसा बुझाएकाहरू आक्रोशित भए । सबैले आएर रामचन्द्रलाई कराउन थाले । मतिनले पैसा उठाएका युवा पनि रामचन्द्रलाई समात्न आइपुगे । जबकि मतिनले पैसा उठाएकासँग उनको कुनै सम्पर्क थिएन । मतिन पैसा उठाएर जापान भागे । मतिनले कति जनासँग रकम उठाएका छन्, रामचन्द्रलाई त्यो थाहा पनि छैन ।

दलालहरूले रामचन्द्रलाई ५ लाखको चेक दिए । त्यो पनि साँटिएन । यता युवाले रामचन्द्रलाई कुटपिट गर्न थाले । केही उपाय नलागेपछि रामचन्द्रले बैंकबाट पैसा निकालेर र केही ४ प्रतिशत ब्याजमा खोजेर एक सय ४६ जनाको पैसा तिरे । जुन पैसा ४२ लाख बढी पुगिसकेको छ । अझै पनि युवाहरू आफूले दिएको पैंसा फिर्ता गर्न भन्दै आइरहेका छन् । अपहरण गर्ने, मार्ने धम्की दिइरहेको रामचन्द्र बताउँछन् ।

बिभिन्न युवालाई नगद पैसा ४२ लाख बढी बुझाएका रामचन्द्रको दलालले काठमाडौंमा नेतासँग भेट गराउन जाँदा, मेडिकल गर्न लैजाँदा गरेर लाखौं रुपैया सिध्याइदिए । रामचन्द्र भन्छन्, ‘काठमाडौं जाँदा प्लेन भाडा मैले नै तिर्थे । काठमाडौंमा एक डेढ/महिना बस्दा सबै मलाई नै तिराउँथे । सबै गर्दा ६० लाख हाराहारीमा खर्च भइसकेको छ ।’

दलालले ठगेको भन्नेमा पूर्णविश्वस्त भइसकेपछि रामचन्द्र प्रहरीमा उजुरी दिन गए । प्रहरीले पहिला वास्ता गरेन । जिल्ला प्रशासन कार्यालयमा गए । त्यहाँबाट आवश्यक कारबाही गर्न भन्ने पत्र आयो । प्रहरीले दलाललाई पक्राउ नगरेपछि रामचन्द्रले साथीभाई लगाएर सन्तोषलाई समातेर प्रहरीमा बुझाए । सन्तोष समातिएपछि अरु तीन जना आफै प्रहरीकहाँ उपस्थित भए ।

उनीहरूलाई खजुरा गाउँपालिका–५ का अध्यक्ष गरिवे शेष, माओवादी नेता रक्षाराम बर्मा र जानकी गाउँपालिकाका वडाध्यक्ष राजकुमार बर्माले जमानी बसेर प्रहरीबाट निकाले । प्रहरी कार्यालयबाट निस्किँदा उनीहरूले रामचन्द्रलाई विभिन्न मितिको २७ लाखको चेक दिए ।

‘त्यो पनि अहिलेसम्म साँटिएको छैन । चेक बाउन्समा सबै प्रमाण लिएर जाँदा प्रहरीले फिर्ता पठाइदिने गरेको रामचन्द्रले बताए । ‘म ६ महिनादेखि प्रहरी कार्यालय धाइरहेको छु । मेरो कुनै सुनुवाई नै भएको छैन, प्रमाण हुँदा पनि प्रहरीले उनीहरूलाई पक्राउ गर्दैन्,’ उनले भने,‘अझै उनीहरू नै फोनबाट प्रहरी कहाँ किन गएको भनेर धम्की दिन्छन् ।’

रामचन्द्र दलालबाट ठगिएपछि मात्र परिवारलाई सबै कुरा थाहा भएको रामचन्द्रकी पत्नी सुष्मा मौर्यले बताइन् । ‘दलालहरूले खाएको पैसा तिर्दातिर्दै घरजग्गा लिलाम हुने अवस्थामा पुगिसकेका छौं,’ उनले भनिन्, ‘अहिले हामीलाई खानबस्न धौधौ भएको छ ।’ सन्तोष विकको नामको पाँच लाखको कारोबारमा २०८१ वैशाख ३० गते पक्राउ पुर्जी जारी गरे पनि प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।

रामचन्द्र फेरि २०८१ जेठ ३० गते बिभिन्न बैंकका धेरै वटा गरी २७ लाखको चेक लिएर प्रहरी कहाँ पुग्दा पनि प्रहरीले मुद्दा दर्ता गरेको छैन् । दलालले विभिन्न मितिमा दिएको बाउन्स चेक र आफूले उठाएको भन्दा कयौं गुणा बढी रकम युवाहरूलाई फिर्ता गरिसकेका रामचन्द्रको दाबी छ । उनी दलालले विभिन्न मितिमा दिएको ३४ लाखको खाली चेक लिएर हिडिरहेका छन् ।

‘प्रहरीमा उजुरी परेको अवस्थामा पनि आर्थिक लेनदेनको विषयमा फिर्ता भयो भने आरोपी छुटिहाल्छ । अहिले तीन पटकसम्म दुबै पक्षलाई भेटाउने वातावरण मिलाउन खोजेका हौं,’ जिल्ला प्रहरी बाँकेका वरिष्ठ प्रहरी नायब निरीक्षक मणि लामिछाने भने, ‘हदम्याद सकियो भने आफैँ मुद्दा दर्ता हुन्छ ।’

रुपा गहतराज गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully