भैरहवा — भैरहवाको एक होटलमाचार जनालाई प्रहरीले शुक्रबार बिहान २० किलो लागूऔषध चरेससहित पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय भैरहवाबाट संयुक्त रूपमा खटिएको टोलीले भैरहवाको बुद्धचोकस्थित चन्द्रसूर्य होटलबाट उक्त परिमाण चरेससहित पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाका प्रमुख सागर भट्टराईले विशेष सुराकीको आधारमा २० किलो चरेससहित त्यसमा संलग्न चार जना कारोबारीलाई पक्राउ गरिएको बताए । उनीहरूको नाम र ठेगाना भने प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउ गर्ने क्रममा एक जना कारोबारी भने फरार भएका छन् ।
भट्टराईका अनुसार पक्राउ परेका चार जना युवक धादिङको गजुरीका हुन् । बरामद गरिएको चरेसको बजार मूल्य नेपालमा ९ लाख रुपैयाँ भन्दा धेरै पर्छ । यो मूल्य भारतमा झन् धेरै पर्ने गर्छ । धादिङको गजुरीबाट भैरहवा हुँदै भारततर्फ लैजाने क्रममा उक्त परिमाणको चरेस बरामद भएको हो ।
उक्त होटेलको एउटा कोठा उनीहरूले बुधबारदेखि बुक गरेका थिए । होटेलको विवरण पुस्तिकामा काठमाडौँ महानगरपालिका बालाजु बस्ने सुजन लामा र धादिङ गजुरी गाउँपालिका–८ का दीपक तामाङको नामबाट रुम बुक गरिएको छ ।
पक्राउ गरिएका चारै जना युवा चरेसको कारोबारी भएको र यसबारेमा थप अनुसन्धान तथा छानबिन भइरहेको भट्टराईले बताए ।
