रामपुर-रोल्पा सडकको काम सुस्त गतिमा 

खाल्डाखुल्डी र धुलाम्मे हुँदा सवारी साधन र नागरिकलाई सास्ती 

फाल्गुन १, २०८१

माधव अर्याल

Rampur-Rolpa road work is slow

पाल्पा — लुम्बिनी प्रदेशको गौरवको योजना रामपुर (पाल्पा)–रोल्पा सडकले पाल्पाका १० मध्ये ९ पालिका छोएर गएको छ । जिल्लाका तानसेन र रामपुर नगरपालिका, निस्दी, पूर्वखोला, रम्भा, माथागढी, बगनासकाली, रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाका कुनै न कुनै वडा छोएको हो । ३ सयमध्ये झन्डै १ सय १२ किलोमिटर क्षेत्र पाल्पामै पर्छ । तर यहाँ बजेट अभावले काममा ढिलासुस्ती भएको छ । 

रामपुर–रोल्पा सडकअन्तर्गत आर्यभन्ज्याङ–रामपुर र हार्थोक–छहरा खण्ड यहाँका पुराना सडक हुन् । यी दुवै खण्ड १४ वर्षअघि ओटासिल गरिएको सडक हो । तर अहिले यहाँ कालोपत्रको नामोनिसान छैन । जतासुकै कालोपत्र उप्किएको छ । खाल्डाखुल्डी र धुलाम्मे बनेको छ । चहलपहल हुने सडक अहिले सुनसान जस्तै छ ।

‘यही सडक भएर निकै धेरै सवारी साधन चल्थे,’ रामपुर नगरपालिका–९, जब्गादीका केशव पंगेनीले भने, ‘रामपुर क्षेत्रको विकास र पक्की पुल निर्माणका लागि यही सडक प्रयोग गरेर सबै सामान लगिन्थ्यो । तर अहिले रामपुर–जब्गादी–आर्यभन्ज्याङ सडक सुनसान जस्तै बनेको छ ।’ उनका अनुसार दैनिक ४० वटा बस, ट्रक जस्ता ठूला सवारी साधन चल्ने सडकमा अहिले दुई चार वटामा सीमित बनेको छ । साना सवारी साधनको अवस्था पनि उस्तै छ । ‘सकेसम्म रामपुरतर्फबाट कालीगण्डकी करिडोरको वैकल्पिक सडक प्रयोग गर्न थालेका छन्,’ उनले भने, ‘सडक बिग्रिएर कन्तबिजोग भएपछि सवारी साधन चल्नै नमान्ने अवस्था आएको छ ।’

विगतमा आर्यभन्ज्याङ–जब्गादी–रामपुर सडक अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोगमा चामल, गहुँ लगायत अन्न ज्यालामा मेसिनरी सामान प्रयोग नगरी खनेको सडक हो । हरित सडक भएकाले यसको मापदण्ड नै फरक छ । डाँडाका बस्तीलाई समेटेर वरपरका नागरिकले सेवा पाउनेगरी रेखांकन गरिएको छ । 

यही सडकमा धेरै होटल, पसल खुलेका थिए । तर अहिले भने होटल छाड्नुपर्ने अवस्था आएको छ । पसल बिक्री गरेर खेतीपातीमा फर्किने र तराईतर्फ बसाइँ सर्न बाध्य भएको निस्दी गाउँपालिका–५, गल्धा बेलडाँडाकी स्थानीय बासिन्दा तिरनकुमारी श्रेष्ठले बताइन । ‘१४ वर्षअघि ओटासिल गरियो, अहिले लुम्बिनी प्रदेशको गौरवको योजना भनिएको छ,’ निस्दी गाउँपालिकाकी उपाध्यक्षसमेत रहेकी श्रेष्ठले भनिन्, ‘अहिले लामो समयदेखि मर्मत नभएपछि साना तथा ठूला सवारी साधन हिँड्नै नमिल्ने अवस्था आएको छ ।’ यो सडक पाल्पाको पूर्वभेगका डाँडाका बस्ती र वरपरका गाउँ लक्षित हो । जसले गर्दा नागरिकलाई केही समयमै हिँडेर पुग्न सकिनेगरी रेखांकन गरिएको छ । तर सरोकारवाला निकायले काममा गरेको ढिलासुस्ती र सडक मर्मत नगर्दा वैकल्पिक सडक खोज्नुपर्ने अवस्था आएको हो । 

वर्षायाममा खाल्डाखुल्डी हुने र मर्मत गर्न स्थानीय सरकारले नसक्ने भएपछि माटो राखेर पुर्ने काम भएको छ । स्थानीय नागरिकको दबाबका कारण खाल्डाखुल्डी पुर्ने र पहिरो सफा गर्ने काम स्थानीय तहले गरेका छन् । रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाका अनुसार नागरिकको दबाव थेग्न नसकेपछि माटै राखेर भए पनि खाल्डा पुर्ने काम र पहिरो सफा गर्ने गरिएको छ । ‘हामीसँग धेरै बजेट हुँदैन त्यसैले पनि कालोपत्र गर्ने काम सकिएको छैन,’ उनले भने ।  

Rampur-Rolpa road work is slowलुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना भएकाले पनि स्थानीय तहले वास्ता गरेका छैनन् । प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले पहिरो खसेको लामो समयसम्म सफा नगरेपछि सडक विभागको डोजर प्रयोग गरेर स्थानीय तहले खाल्डा पुर्ने र पहिरो सफा गर्ने काम गरेको बताए । ‘पहिरो गएको स्थानमा ट्रयाक मात्र खोलेर राखेको थिए,’ उनले भने, ‘त्यसपछि दुई लेनको सडक बनाउनसमेत स्थानीय तहले अगुवाई नगरेपछि म आफै खटिनु परेको थियो ।’ केही भाग सडक डिभिजनले हेर्ने भए पनि हार्थोकदेखि छहरा खण्डमा पनि अवस्था उस्तै छ । 

चार वर्षअघि स्थानीय तहले सडक चौडा गरे पनि कालोपत्र गरिएको छैन । वर्षायाममा खाल्डाखुल्डी, हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको रैनादेवी छहराका कमल घिमिरेले बताए । ‘वर्षौंदेखि खनेर अलपत्र राख्ने र कालोपत्र नगर्दा नागरिकले सास्ती खेप्नु परेको छ,’ उनले भने, ‘लुम्बिनी प्रदेशको गौरवको योजना भए पनि यसमा काम छिटो हुन नसक्दा समस्या भएको हो ।’

यही सडकअन्तर्गत अर्घाखाँची जिल्लामा पाणिनी गाउँपालिका, सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका पर्छ । प्यूठानमा मालारानी गाउँपालिका, प्यूठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका हुँदै रोल्पाको होलेरी, दहवन हुँदै जिनाबाङसम्म पुगेको छ । यो सडकले पाल्पादेखि रोल्पा दहवनसम्म उत्तरतर्फ २७ र दत्तिणतर्फ ३० सडकलाई जोड्छ । प्रदेश सरकारले ५२ वटा मुख्य बस्ती समेटेको गौरवको आयोजनामा राखेको छ । 

रामपुरदेखि रोल्पासम्म नै सडकको ट्रयाक सञ्चालनमा छ । तर स्तरोन्नतिमा ढिलाइले सडक छियाछिया परेको छ । गत आव २०७८/७९ असार मसान्तसम्म रामपुर-कपुरकोट सडक खण्डको २ सय ९० सय किलोमिटर सडक कालोपत्र गरिसक्ने लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालयको लक्ष्य थियो । तर बजेट अभावका कारण सोचेजस्तो प्रगति हुन नसकेको निर्देशनालयका सूचना अधिकारी अरुण गुप्ताले बताए । 

सडकको बीच विन्दुबाट दायाँबायाँ १५/१५ मिटर कायम गरिएको छ । घर बस्तीहरूलाई उचित मुआब्जा सहित हटाउने, ओटासिल कालोपत्रको आयु सकिएका स्थानमा बाटो फराकिलो बनाउने गरी गौरवको योजनाको काम छनौट गरिएको उनले बताए ।  होलाङदी–ढुंगाखानीमा ३.२ किलोमिटर सडकमा ५ करोड ९२ लाख रकम खर्च भई कालोपत्र भएको छ । २४ करोड ५६ लाखमा ठेक्का भएको रम्भा गाउँपालिका अन्तर्गत हुमीन–ताहुँ खण्डको ५.५ किलोमिटरको अघिल्लो आर्थिक वर्षदेखि काम सुरु भएको छ । दुई वर्षमा सक्ने गरी ठेक्का भए पनि ५ करोड ५४ लाख मात्र भुक्तानी भएको छ । २२.५६ प्रतिशत मात्र काम भएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख वासुदेव भण्डारीले बताए । ‘अघिल्लो वर्ष गरेका कामको निरन्तरता छ,’ उनले भने, ‘बजेट कम भएकाले निर्माण व्यवसायीले पनि ढिला गरी काम गरेको छ ।’

Rampur-Rolpa road work is slowनिर्देशनालयका अनुसार २०७६ देखि २७८ सम्म अर्घाखाँचीको सन्धिखर्क र भूमिकास्थान नगरपालिकामा १६.५ किलोमिटर सडक कालोपत्र भएको छ । लागत अनुमान २४ करोड ८ लाख भए पनि १६ करोड २८ लाख खर्च भएको छ । सन्धिखर्क र भूमिकास्थानमै अर्को ९.५ किलोमिटर सडक ठेक्का लागेको छ । २०७९ देखि २०८२ सम्म सक्नुपर्ने कामको ३२.४७ प्रतिशत काम भएको निर्देशनालयका सूचना अधिकारी गुप्ताले बताए । २९ करोड ७८ लाख कुल लागत अनुमान भए पनि २५ करोड ८६ लाखमा ठेक्का लागेको छ । अर्घाखाँचीकै पाणिनी गाउँपालिका अन्तर्गत घुम्तीदेखि दुर्गाफाँट क्षेत्रको ११.५ किलोमिटर सडकको कालोपत्र सकिएको छ । 

२४ करोड ५९ लाख कुल लागत अनुमान भए पनि १४ करोड २२ लाखमा ठेक्का लागेको थियो । हालसम्म १३ करोड १७ लाख भुक्तानी भएका निर्देशनालयले जनाएको छ । प्यूठानमा प्यूठान नगरपालिकाभित्र ५ किलोमिटर कालोपत्र भएको छ । १७ करोड ५२ लाख लागत भए पनि ११ करोड ५६ लाखमा ठेक्का भएको थियो । २०७७ देखि २०८० भित्रै कालोपत्र भइसकेको निर्देशनालयले जनाएको छ । प्यूठानकै प्यूठान नगरपालिका र स्वर्गद्वारी नगरपालिकामा १.३ किलोमिटर सडकको काम भइरहेको छ । ४ करोड लागत अनुमान गरिएको यस सडकमा २ करोड ४७ लाखमा ठेक्का भएको छ । यसको प्रगति ४५ प्रतिशत रहेको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा २.५ किलोमिटरको ठेक्का लागेको छ । ३ करोड ७० लाखको लागत अनुमान भए पनि २ करोड ५५ लाखमा ठेक्का लागेको छ । २०८१ असारमै सकिएको यसको प्रगति ९८ प्रतिशत छ ।

निर्देशनालयका अनुसार रोल्पाको रुन्टीगढी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा निगालपानी–दहवन ९.१३ किलोमिटर सडक स्तरोन्नतिका लागि ४२ करोड लागत अनुमान र पाल्पाको रिब्दीकोट गाउँपालिकामा हार्थोक–बतासे खण्डका लागि ३१ करोड ९५ लाखको बहुवर्षीय ठेक्काको लागि प्रस्ताव गरिएको निर्देशनालयका सूचना अधिकारी गुप्ताले बताए ।  

आयोजनाका लागि पर्याप्त बजेट विनियोजन नहुँदा सडक निर्माणको काममा ढिलाइ भएको आयोजना पक्षले जनाएको छ । यो सडकबाट लुम्बिनीसहित गण्डकी र कर्णाली प्रदेशका विभिन्न जिल्लाले समेत फाइदा उठाउन सक्नेछन् । पहाडबाट तराईमा बढ्दो बसाइासराइलाई रोक्ने, उत्पादनमा वृद्धि गर्ने र तिनको बजारीकरण गर्ने एवम् नयाँ धार्मिक एवम् पर्यटकीय गन्तव्यको विकास गर्ने उद्देश्यले यो आयोजना सुरु भएको प्रदेश सरकारले जनाएको छ । यसको कूल लम्बाइ तीन सय किलोमिटर पर्छ । जसमध्ये पाल्पामा एक सय १२, अर्घाखाँचीमा ७८, प्यूठानमा ६७, रोल्पामा ३५ किलोमिटर रहेको छ । लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत प्रदेशस्तरका प्रमुख राजमार्गहरुको विस्तार गर्ने कार्यक्रम रहेको हुन्छ । 

पाल्पाको रामपुर–जब्गादी–आर्यभन्ज्याङ–तानसेन–हार्थोक–छहरा–तीनगिरे पर्छ । अर्घाखाँचीको तीनगिरे पाणिनी–दुर्गाफाँट–घुम्ती–सन्धिखर्क–प्युठान पर्छ । प्युठान–चकचके–भिंग्ररी–स्वर्गद्वारी पर्छ । त्यस्तै होलेरी–कपुरकोट सडक आयोजना कायम गरिएको छ । तर कतिपय स्थानमा बहुवर्षीय ठेक्का लगाउने र त्यसलाई बजेट अभाव हुने गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ देखि सडक सुरु भए पनि काम भने सुस्त गतिमा छ । सुरुका वर्षमा यही सडकअन्तर्गत पाल्पा र अर्घाखाँचीको लागि १० करोड साथै प्युठान र रोल्पाका लागि १० करोड रूपैयाँ बजेट विनियोजन हुने गरेको थियो ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully