भ्रष्टाचारले नेपालको समग्र संरचना नै क्षतविक्षत : दाहाल 

'विदेशका नेपाली फर्किनुपर्ने बाध्यता आए देश ठूलो अप्ठ्यारोमा पर्न सक्छ'

फाल्गुन १, २०८१

गगनशिला खड्का

Corruption has damaged the entire structure of Nepal: Dahal

गुल्मी — पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचारले नेपालको समग्र संरचना नै क्षतविक्षत भएर टिठलाग्दो अवस्था आएको बताएका छन् । गुल्मीको धुर्कोट गाउँपालिकामा सहिद शमशेर स्मृति पार्कको उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्ताे बताएका हुन् ।

‘भ्रष्टाचारले नेपालको समग्र संरचना नै क्षतविक्षत भएको बडो टिठलाग्दो स्थिति छ,’ उनले भने ।

कम्तीमा पनि के राजनीतिक नेतृत्व, के कर्मचारीतन्त्र, के भू–माफिया, राज्यको अर्बौंको जमिन व्यक्तिका नाममा लैजाने जुन उपक्रम चलको थियो, त्यसलाई रोक्ने प्रयास गरियो, सामाजिक विभेदको अन्त्य गरेर, सामाजिक न्यायतिर लैजान जोड गरियो, मिटरब्याज पीडितबाट किसानलाई मुक्त गर्नका लागि निकै ठूलो प्रयास गरियो, अनि विदेशमा रहेका नेपाली युवाहरू र देशभित्रै स्वरोजगारमा रहेकाहरूलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गरेर सामाजिक न्यायलाई सम्बोधन गर्ने निकै मिहिनेत गरिएको थियो र गरिँदै छ,' उनले भने, 'त्यो अभियान अहिले पनि चलिरहेको छ, हामी त्यसमा गम्भीर हुन जरुरी छ ।’

अध्यक्ष दाहालले अमेरिकाबाट आप्रवासीलाई निकाल्ने र मध्यपूर्वमा बेलाबेलामा युद्ध भड्किने र त्यहाँ गएका लाखौं नेपाली नेपाल फर्किनुपर्ने बाध्यता आउन सक्ने भएकाले देशभित्र आर्थिक समृद्धिका लागि राम्रो तयारी गर्नुपर्ने बताए । ‘यदि हामीले देशभित्र राम्रो तयारी गरेनौं, उत्पादन र उत्पादकत्व वृद्धि गरेर आत्मनिर्भर हुने दिशातिर राम्रो तयारी गरेनौं भने कुनै पनि बेला देश ठूलो अप्ठ्यारोमा पर्न सक्छ,’ उनले भने । 

गुल्मीको धुर्कोट र मालिकामा राजनीतिक समझदारी र राजनीतिक एकताको संस्कार बसाएको भन्दै उनले धन्यवाद दिए । प्रतिपक्षमा पुगेपछि सरकारको आलोचना गरिरहने दाहालले बिहीबार गुल्मीको मालिका र धुर्कोटमा भएका दुईवटै कार्यक्रममा कुनै राजनीतिक दलको आलोचना भने गरेनन् ।

गगनशिला खड्का खड्का कान्तिपुरकी गुल्मी संवाददाता हुन् ।

Link copied successfully