जोशीको निवेदनमा कैफियत प्रतिवेदन र सक्कल मिसिल झिकाउन उच्च अदालतको आदेश

माघ ३०, २०८१

घनश्याम गौतम

High Court order to withdraw the report and Sakkal Missile on Joshi's application

बुटवल — बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा मुछिएका गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीको रूपन्देही जिल्ला अदालतले गरेको आदेशको कैफियत प्रतिवेदन र सक्कल मिसिल मगाउने आदेश गरेको छ । 

जिल्ला अदालतका न्यायाधीश वशिष्टकुमार घिमिरेले सोमबार जोशीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएका थिए । आदेश पूर्वाग्रही रहेको भन्दै जोशी मंगलबार उच्च अदालत गएका थिए । बुधबार उच्च अदालतका १ नं. इजलासका न्यायाधीश राजेश्वर तिवारीले कैफियत प्रतिवेदन र सक्कल मिसिल झिकाउने आदेश गरेको तुलसीपुर उच्च अदालत बुटवल इजलास कार्यालयका सूचना अधिकारी रामबहादुर कुँवरले बताए । 

बुधबार जोशीका तर्फबाट मनोजकुमार चौधरी, रोचक रेग्मीसहितका ३ जना वकिलले बहस गरेका थिए । एकै प्रकृतिको सुप्रिमकै मुद्दामा रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रवि लामिछाने १ करोड धरौटीमा रिहा भएका थिए । सोमबार अदालत उपस्थित भएका जोशीको सोमबार नै न्यायाधीश घिमिरेको इजलासमा पेसी परेको थियो । न्यायाधीश घिमिरेको आदेश पूर्वाग्रही रहेकाले बदर माग गर्दै जोशी उच्च अदालत पुगेका थिए । 

यसअघि जोशी पोखराको सूर्यदर्शन सहकारीमा ८८ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ५० लाख धरौटीमा रिहा भएका थिए । उनीविरुद्ध चितवनको सहारा सहकारी ठगीमा पनि मुद्दा दर्ता भएको छ । एकै प्रकृतिको सुप्रिम सहकारी ठगी मुद्दामा रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका प्रवन्ध निर्देशक रवि लामिछाने भने रुपन्देही जिल्ला अदालतबाट १ करोड धरौटीमा रिहा भएका थिए । 

लामिछानेलाई रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीले धरौटीमा छोड्ने आदेश गरेका थिए । सुप्रिम सहकारी ठगीमा २२ जनाविरुद्ध पूरक अभियोग दर्ता भएको थियो । पुरक अभियोगमा ५५ करोड रुपैयाँ बिगो कायम गरिएको छ । सुप्रिमबाट जोशीका नाममा व्यक्तिगत २ करोड ५० लाख र सामुहिक दायित्वअर्न्तगत १० करोड ९९ लाख ऋण लिएको देखिएको छ । 

यसअघि गत वैशाखमा गितेन्द्रबाबु राईसहित २८ जनालाई प्रतिवादी बनाएर सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो । २८ जना मध्ये पनि १७ जनाविरुद्ध थप अभियोगसहितको मुद्दा पनि दर्ता भएको छ ।

घनश्याम गौतम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully