बर्दिया — जिल्ला प्रहरी कार्यालय बर्दियाले बारबर्दिया नगरपालिका–९ बाट जुवा खेल्दै गरेका १५ जनालाई पक्राउ गरेको छ । स्थानीय निराजन राजवंशीको होमस्टेमा जुवा खेलिरहेका उनीहरुलाई बुधबार बिहान १ बजे नियन्त्रणमा लिएको हो ।
जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले होमस्टेमा छापा मारेको थियो । जुवा खालबाट एक लाख ८२ हजार ६ सय ७० रुपैयाँ नगदसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डिएसपी ऋषिराम घर्तीमगरले जानकारी दिए ।
यस्तै जुवा खालबाट प्रहरीले एन्ड्रोइड १३ थान र सादा ७ गरी २० थान मोबाइल पनि बरामद गरेको छ । डिएसपी घर्तीमगरका अनुसार पक्राउ पर्नेमा सोही होमस्टेका सञ्चालक राजवंशी, स्थानीय नविन कुमार चौधरी, वडा नम्बर २ का रामप्रसाद चौधरी, राजापुर–८ का बसन्तकुमार शर्मा, राजापुर–७ का कमल गुरुङ र गुलरिया नगरपालिका–१ का आशुतोष चौधरी रहेका छन् ।
यस्तै गुलरिया–२ का रविन्द्र यादव, सुर्खेतको पञ्चपुरी नगरपालिका–७ का देवबहादुर शाही, चौकुने गाउँपालिकाका हरिशचन्द्र बुढा, मधुवन नगरपालिका–९ का नारायण क्षेत्री, गुलरिया–१ का चेतन खनाल, सोही ठाउँका आशुतोषकुमार यादव, गुलरिया–७ का श्याम शर्मा, वडा नम्बर ११ का दुर्जन राई र वडा नम्बर ७ का घनश्याम दवाडी पनि पक्राउ परेका छन् ।
