तिलोत्तमामा नि:शुल्क भिडियो एक्सरे सेवा सुरु

माघ २९, २०८१

सन्जु पौडेल

Free video x-ray service launched in Tilottama

तिलोत्तमा — रूपन्देहीको तिलोत्तमा नगरपालिकामा मंगलबारदेखि नि:शुल्क भिडियो एक्सरे सेवा सुरु भएको छ । नगरपालिकाभित्रका गर्भवती महिलाले गर्भ रहेदेखि चारपटकसम्म र सुत्केरीपश्चात् आवश्यक परेमा नि:शुल्क रूपमा भिडियो एक्सरे सेवा लिन पाउने सुविधाको थालनी भएको हो ।

चिकित्सकको सिफारिसअनुसार चारपटकबाहेक पनि जाँच गर्नु परेमा शुल्क नलाग्ने पालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले जानकारी दिए । 'यो सेवाको सुरुवात अहिलेलाई तिलोत्तमा-६ स्थित आनन्दवन स्वास्थ्य चौकी र वडा नं. १० स्थित सेमराबजार स्वास्थ्य चौकीबाट सुरु गरेका छौं,' उनले भने, 'क्रमश: सबै वडामा यो लागू हुनेछ ।'

नि:शुल्क भिडियो एक्सरे सेवा शुभारम्भ कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाणले आमा बन्नु महिलाका लागि सहज अवस्था नभएकाले स्वास्थ्यको ख्याल गर्न जरुरी रहेको बताए । पालिका आफ्ना नागरिकको स्वास्थ्यप्रति जिम्मेवार रहेको भन्दै उनले हरेक पटक नवीनतम् काम गर्दै नागरिकसँग आफूहरू सँगसँगै रहेको अनुभूति दिलाइरहेको बताए ।

उपप्रमुख जगेश्वरदेवी चौधरीले यो कार्यक्रमबारे छलफल गर्दा नै कार्यपालिकाका हरेक सदस्यले गर्नैपर्ने कार्यक्रम ठानी बजेट विनियोजन गर्न स्वीकृत भएको बताइन् । गत साउनबाट नै यो सेवा सुरु गर्ने भनिए पनि कार्यविधि तयार गर्दा समय लम्बिएको उनले जनाइन् । 'यस्ता सेवाले हुँदा खाने वर्गलाई अति नै सहयोग गर्नेछ,' उनले भनिन्, 'यो जाँचमा लाग्ने पैसा अब महिलाले स्वस्थकर खानेकुरा किन्नमा खर्च गर्न सक्नेछन् ।'

पालिकाले उक्त सेवाका लागि पोर्टेबल यूएसजी मेसिन प्रयोग गर्ने भएको छ । यसको बजार मूल्य १७ लाख रुपैयाँ रहेको तिलोत्तमा-६ का वडाध्यक्ष गणेश पाठकले जानकारी दिए । यो मेसिन सँगसँगै लिएर हिँड्न मिल्ने भएकाले एक हप्तादेखि १५ दिनको अन्तरमा एक वडादेखि अर्को वडामा पुगेर पनि सेवा दिन सकिने उनले बताए ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully