बर्दघाटका १७ स्वास्थ्य संस्था किशोर-किशोरीमैत्री घोषणा

माघ २९, २०८१

नवीन पौडेल

17 health institutions of Bardghat announce youth-friendliness

परासी — पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको १७ वटा स्वास्थ्य संस्थालाई किशोर–किशोरीमैत्री घोषणा गरिएको छ ।

 

किशोर-किशोरीले आफ्नो समस्या र जिज्ञासा सहजरुपले व्यक्त गर्न पाउने र समाधानका लागि तालिम प्राप्त स्वास्थकर्मीको व्यवस्था भएपछि किशोर-किशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो । 

स्वास्थ संस्थाले ४५ वटा सूचक पार गरेर आवश्यक सेवा सुविधाको सुनिश्चितता भएपछि घोषणा गरिएको बर्दघाट नगरपालिकाका स्वास्थ शाखा प्रमुख माधव ज्ञावलीले जानकारी दिए । 

किशोर–किशोरीमैत्री हुनका लागि छुट्टै परामर्श कक्ष,  सेवाको पहुँचता, गोपनीयता र विश्वास, योग्य र प्रशिक्षित स्वास्थ्यकर्मीद्वारा सेवा, जानकारी र शिक्षा,सामुदायिक सहभागिता, लैंगिक समानता र समावेशीता जस्ता मापदण्डहरु रहेका छन्। 

हाल नगरपालिकाभित्र ७ हजार ४६ किशोर र ६ हजार ६ सय ९९ किशोरी रहेका छन् । किशोर-किशोरीलाई लक्षित गर्दै लागूपदार्थ दुर्व्यसन नियन्त्रण, आत्महत्याको रोकथाम, मानसिक स्वास्थ्य सुधार तथा सुरक्षित यौन व्यवहारसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेर दिगोरुपमा कार्यान्वयन गरिने नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताए ।

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully