माघ ३० गते लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीबीच रानीमहलमा अन्तरप्रदेश समन्वय बैठक 

माघ २८, २०८१

माधव अर्याल

An inter-provincial coordination meeting was held between the chief ministers of Lumbini and Gandaki provinces on January 30 at Ranimahal

पाल्पा — पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहलमा लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीबीच अन्तरप्रदेश समन्वय बैठक माघ ३० गते बुधबार हुने भएको छ ।

त्यसको तयारीका लागि स्थलगत अवलोकन, मञ्च व्यवस्थापन लगायतका अन्य तयारीका काम तीव्रताका साथ अघि बढेको पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेय लगायत प्रदेशका मन्त्री, मुख्य सचिव, सचिवहरुकोसमेत बैठकमा सहभागितामा अन्तरप्रदेश समन्वय बैठक हुन लागेको हो । 

दुई प्रदेशबीच साझा प्रतिबद्धता घोषणापत्र तयारीसमेत भएको छ । तानसेनदेखि १३ किलोमिटर कालीगण्डकी नदी किनारमा रहेको रानीमहलमा हुने दुई प्रदेशको बैठकले समृद्धि र विकासका साझा सरोकारको विषयलाई सम्बोधन गर्ने तयारी छ । 

यहाँ हुने बैठकले दुवै मुख्यमन्त्रीले साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको लुम्बिनी प्रदेशका कायममुकायम प्रमुख सचिव बाबुराम अधिकारीले जानकारी दिए । दुवै प्रदेशको आगामी वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा समावेश गर्नेगरी साझा प्रतिबद्धता जारी हुनेछ ।

प्रदेशबाट तर्जुमा हुने र भएका विकास निर्माणका साथै अन्य विषयवस्तुमा सहयोग, समन्वय र सहकार्य गर्न बैठक फलदायी हुने विश्वास छ । दुवै प्रदेशको कर प्रणाली, राजश्व, रोयल्टी, पर्यटन लगायतका सम्बन्धमा छलफल गर्दै एकरुपता कायम गर्नसमेत बैठक महत्त्वपूर्ण हुनेछ । 

दुवै प्रदेशको बृहत्तर हित गर्ने सहलगानीमा सञ्चालन हुन सक्ने सम्भावित ठूला आयोजनाको पहिचान गर्न बैठक फलदायी हुने बताइएको छ । मुख्य सचिव अधिकारीका अनुसार यसअघि यस्तै बैठक कणाली र सुदूरपश्चिम प्रदेशसंग लुम्बिनीले गरिसकेको छ ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully