बर्दिया — प्रहरीले ४० वर्षअघि डाँका चोरी मुद्दामा अदालतबाट कैद सजाय भई फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ । २०४१ साउन २४ मा जिल्ला अदालतको फैसला आदेशले डाँका चोरी मुद्दामा फरार रहेका प्रतिवादी सुकला सोनाहालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी ऋषिराम घर्तीमगरले फरार रहेका गेरुवा गाउँपालिका–६ का सोनाहालाई आफ्नै घरवतनमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाए । अदालतबाट उनीमाथि तीन महिना कैदको फैसला भएको थियो । प्रहरीले सोनाहासहित ५ जना फरार प्रतिवादीलाई आइतबार एकै दिन पक्राउ गरी अदालतमा पेस गरेको छ ।
डीएसपी ऋषीराम घर्तीमगरले गुलरिया नगरपालिका–६ का राजु मिश्र, गैरवा गाउँपालिका–३ का चेतराज गिरी, भरतबहादुर थारु, सोही पालिका–३ का लक्ष्मणप्रसाद बैश्यसहित सोनाहालाई पक्राउ गरी अदालतमा दाखिला गरिएको बताए ।
