परासी — पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकास्थित खजुरा खोलाबाट अवैध तरिकाले उत्खनन गरिएको नदीजन्य पदार्थ नगरपालिकाले जफत गरेको छ ।
अवैध उत्खनन नियन्त्रणका लागि लागिपरेको नगरपालिकाले अभियान नै चलाएको छ । सोही अभियान अन्तर्गत शुक्रबार र शनिबार गरी नगरपालिकाले ९३ ट्याक्टर र २४ टिपर ढुंगा गिटी नियन्त्रणमा लिएको हो ।
खजुरा खोलाबाट रातको समयमा नदीजन्य पदार्थको अवैध उत्खनन गर्ने र डम्पिङ गर्ने क्रम बढ्दो छ । ठेक्का लाउनु अगाडि नै ढुंगा, गिटी र बालुवा तस्करी भइरहेको स्थानीयले बताएका छन् ।
बर्दघाट नगरपालिकाले चालु आर्थिक वर्षमा खोला ठेक्का लगाए पनि वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनमा वन क्षेत्र देखिएकाले अन्तिम अवस्थामा ठेक्का रद्ध गरिएको थियो । बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले प्रहरी र नगर प्रहरी परिचालन गरेर अवैध डम्पिङ जफत गरिएको र आवश्यक कारबाही गरिएको बताए ।
जिल्लाका अन्य क्षेत्रमा पनि समयमा नै खोला ठेक्का नलाग्दा नदीजन्य पदार्थको चोरी निकासी बढेको छ ।
